शनिबार, वैशाख १५, २०८१

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार र सह-सम्पादकको ५० हजार बढी बनाउन सिफारिस

मेरोन्यूज २०८० जेठ ७ गते १३:०७

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउन सरकारलाई सिफारिस गरेको छ।

समितिले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ बनाउन सिफारिस गरिएको हो।

मन्त्री शर्माले यो प्रस्तावलाई मन्त्रिपरिषद् बैठकमा लाने बताएकी छिन्। ‘मन्त्रालयमा आन्तरिक छलफलल गरेर यो प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजान्छु,’ मन्त्री शर्माले भनिन् ।

यदि मन्त्रिपरिषद्बाट पारित भए आगामी आर्थिक वर्षदेखि सिफारिस अनुसार पारिश्रमिक तोकिने छ।

यसअघि पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ६ सय तोकिएको थियो।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार मन्त्रालयमा सिफारिस गर्ने र सरकारले घोषणा गर्ने हुन्छ । त्यही आधारमा आज समितिले सञ्चारमन्त्रीलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पत्रकारको पारिश्रमिकका विषयमा सिफारिस प्रतिवेदन बुझाएको हो ।

समितिले पत्रकारहरूको दर्जा अनुसार पारिश्रमिक सिफारिस गरको छ । समितिले सहायक संवाददाता चौथो तहलाई ३४ हजार १ सय २५, संवाददाता पाँचौ तहलाई ३७ हजार ५ सय ३८, वरिष्ठ संवाददाता छैँटौ तहलाई ४० हजार ९ सय, उपसम्पादक सातौँ तहलाई ४३ हजार दुई सय ७२ रुपैयाँ सिफारिस गरिएको छ ।
प्रमुख समाचारदाता नवौँ तहलाई ४८ हजार, सहसम्पादक १० औँ तहलाई ५० हजार चार सय पारिश्रमिक बनाउन सिफारिस गरिएको छ ।

प्रतिक्रिया