आइतबार, जेठ ६, २०८१

‘मोबाइल व्यवसायी समस्यामा छन्, मार्जिन बढाउनु पर्छ’

मेरोन्यूज २०८० जेठ ६ गते २१:०२

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मुलुकभर सक्रिय ५० हजारभन्दा बढी मोबाइल व्यवसायी समस्यामा परेको बताएका छन् ।

Advertisement

महासङ्घको कोशी प्रदेश समिति गठनका लागि प्रदेशभरका व्यवसायी उपस्थित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले आयातकर्ताले मनग्य मुनाफा कमाउने तर व्यवसायी घाटामा परेर घरबार बेच्नुपर्ने अवस्थामा पुग्नु दुःखद् रहेको बताए ।

अध्यक्ष भट्टराईले भने, “व्यवसायी गर वा मरको अवस्थामा पुगेका छन्, मार्जिन नबढाए आयातकर्ताविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन । यसका लागि महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ ।”

वैधानिक रुपमा प्राप्त हुने २० प्रतिशत मुनाफा आफूहरुले नखोजेको भन्दै उनले व्यवसाय बचाउनका लागि मार्जिन विना मोबाइल बिक्री नगर्ने विषयमा छलफल चलिरहेको बताए ।

महासङ्घका महासचिव रमेश घिमिरेले व्यावसायिक स्वच्छता र आचरणसहितको व्यवसाय गर्नु पर्नेमा जोड दिए । महासङ्घमा आबद्ध नभएका र अव्यावसायिक काम गर्नेविरुद्ध महासङ्घ चनाखो रहेको उनको भनाइ छ ।

महासङ्घका बागमती प्रदेश संयोजक छतेन्द्र आचार्यले स्मार्टफोन बिक्री गर्ने व्यवसायीहरु पहिले आफै स्मार्ट बन्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया