शुक्रबार, जेठ ४, २०८१

आगलागीमा मृत्यु भएका चार जनाको सामूहिक दाहसंस्कार

मेरोन्यूज २०८० वैशाख २८ गते २१:११

काठमाडौँ । आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकाबाङ्गका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

Advertisement

खाकाबेँसीको बघमारे घाटमा सो सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपाल खनालले बताए ।

भूमिकास्थान नपा–२ ढाकाबाङ्गमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ शोकमा डुबेको छ ।

मङ्गलबार दिउँसो भूमिकास्थान नगरपालिका २ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँ बेल्वासे टोलका चारै जनाको मृत्यु भएको थियो ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएकामा उपचारका लागि लैजाँदै गर्दा केहीको बाटोमा र केहीको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।

आगलागीमा परी घाइते भएका भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा मृत्यु भएको हो ।

आगलागीमा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया