शुक्रबार, जेठ ४, २०८१

चिप्लिएका केपी ओली, हराएका टोपबहादुर !

मेरोन्यूज २०८० वैशाख २८ गते १९:२५
, पार्टीको पाँचौँ केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओली

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपाली राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठूला दलका ठूलै नेता मुछिएपछि राजनीति तरङ्गित बनेको हो ।

Advertisement

नक्कली शरणार्थी प्रकरणमा सत्तारुढ दल तथा देशकै ठूलो दल नेपाली कांग्रेसका शक्तिशाली नेता पक्राउ परे । पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेसँगै नेकपा एमालेमाथि दबाब पुग्यो ।

एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा प्रहरीलाई झुक्याएर फरार भएका थिए । रायमाझी फरार भएसँगै एमालेले लुकाएको भन्दै दबाबमा पुगेको हो ।

कार्यवाहक प्रधानमन्त्रीसमेत भइसकेका पूर्वगृहमन्त्री खाँण बुधबार पक्राउ परेपछि मात्रै एमालेले दबाब महसुस गर्दै रायमाझीलाई पार्टीबाट निलम्बन गरेको विज्ञप्ति निकाल्यो । देशभर नागरिक प्रदर्शन हुने थाहा पाएको एमालेले आफ्नो लाज ढाक्न हतारमै विज्ञप्ति निकालेको हो ।

तर, पार्टीको पाँचौँ केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फरार भएका टोपबहादुरको नजिकका मान्छेसँग कुरा भएको दाबी गरे । सोही बैठकबाट बाहिरिदै गर्दा पार्टी प्रवक्ता तथा उपमहासचिव पृथ्बी सुब्बा गुरुङले रायमाझी कहाँ छन् भन्ने पार्टीलाई कुनै जानकारी नभएको प्रष्टीकरण दिए ।

गुरुङले सम्पर्कमा नआएकाले पार्टी सचिव रायमाझीलाई निलम्बन गर्नु परेको बताए । उनले भने, ‘गन्ध आउँदैन कसरी थाहा पाउनु ?’ गुरुङले रायमाझी कहाँ छन् भनेर प्रहरीलाई समेत थाहा नभएको बताए ।

उता अध्यक्ष ओलीले बैठकमै आफूले टोपबहादुरका निकटको मान्छेसँग फोन गरेको बताइरहेका थिए । उनले आफूले फोन गरेर कानूनलाई सघाउँछु भनेर फरार हुनु भएको भन्दै प्रश्न गरेको बताए ।

टोपबहादुरका नजिकका मान्छेसँग कुरा भएको भन्दै ओलीले भने, ‘हामीले सचिवालयबाट उहाँलाई भनौँ, तपाईंले कानूनलाई सघाउँछु भनेर राम्रो गर्नु भएको थियो, तर बिचमा फरार भएको देखियो, अब तपाईं कानूनसमक्ष प्रस्तुत हुनुहोस्, प्रहरीमा हाजिर हुनुहोस् र सामाना गर्नुहोस् ।’

अध्यक्ष ओलीले आफूले आफ्नो पार्टीको नीतिको बारेमा पनि टोपबहादुरलाई जानकारी दिएको बताए । ‘हाम्रो पार्टीको नीति यस्तो छ भनेर उहाँ (टोपबहादुर)लाई सुनाइदिनुहोस् र पार्टीको निर्देशन पनि त्यही छ,’ उनले टोपबहादुरको नजिकको मान्छेसँग कुरा भएको बताउँदै थपे, ‘हिजो उहाँ प्रहरीसमक्ष हाजिर हुन आउनु हुन्छ भन्ने सुनेको थिएँ, म अहिले पनि भन्छु, आरोपबाट भाग्नु हुँदैन, प्रहरीसमक्ष हाजिर हुनुहोस् ।’

उनले आफ्नो पार्टीका सचिवलाई प्रहरीले अभद्र व्यवहार गर्न खोजेकाले फरार हुनु परेको दाबी गरे । ‘मैले पछि सुनेँ प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यस कारण अदालतमै उपस्थित हुने विचार गरेँ भनेर उहाँले भन्नुभयो,’ उनले भने ।

नक्कली शरणार्थीको प्रकरणमा मुछिएपछि टोपबहादुरलाई पार्टीको नीतिअनुसार कारबाही गरेको ओलीको दाबी थियो ।

प्रतिक्रिया