शुक्रबार, जेठ ४, २०८१

ज्योति विकास बैंकको गोकर्ण शाखा उद्धघाटन

मेरोन्यूज २०८० वैशाख २८ गते १४:४८

काठमाडौँ । ज्योति विकास बैंकले बिहीबार काठमाडौँको गोकर्णमा १२० औं शाखाको औपचारिक उद्धघाटन गरेको छ । ग्राहकवर्ग समक्ष बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

Advertisement

गोकर्णेश्वर नगरपालिका ४ काठमाडौंस्थित गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । उद्धघाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललगायत विभिन्न पदाधिकारी, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीयको उपस्थिति रहेको थियो ।

उद्धघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकहरुका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

साथै, बैंकका सञ्चालक राम कुमार श्रेष्ठले नयाँ शाखामार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र आगामी दिनमा पनि ज्योति विकास बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसका साथै, बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कार्यक्रममा बोल्दै ज्योति विकास बैंक
देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकेर नागरिकहरुको समृद्धिमा सधैँ साथ दिन र उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्न अग्रसर रहेको कुरामा थप प्रकाश पारे ।

शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।

प्रतिक्रिया