आइतबार, जेठ ६, २०८१

एमाले सचिव टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

मेरोन्यूज २०८० वैशाख २० गते १४:१६

काठमाडौँ । तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

Advertisement

बुधबार काठमाडौँ प्रहरीले जिल्ला अदालत काठमाडौँबाट रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानमा काठमाडौँ प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो ।

यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा डेढ करोडको चेक काटेको प्रहरीले बरामद गरेको छ ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायमाझी ऊर्जामन्त्री बनेका थिए ।

प्रतिक्रिया