आइतबार, जेठ ६, २०८१

दार्चुला हिमपहिरोमा परेका तीन जनाको शव भेटियो

मेरोन्यूज २०८० वैशाख २० गते १३:२७

काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । मंगलबार २ः४५ बजेतिर गएको हिमपहिरोमा परेर बेपत्ता ६ जनामध्ये ३ जनाको शव भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्। दुई जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको छ ।

Advertisement

मृतकमध्ये एक जना जुहु–४ का १८ वर्षीय प्रविण कुँवरको शनाखत भएको छ । दुई जना महिलाको पहिचान नखुलेको प्रजिअ जोशीले जानकारी दिइन् ।

दिउँसोदेखि जम्मा १२ जना बेपत्ता थिए । तीमध्ये ६ जनाको सशस्त्र प्रहरी बलको छाङ्रुस्थित गुल्म नम्बर ५० ले उद्दार गरेको छ । तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको टोली राति फर्किएको थियो । बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु भएको थियो ।

सशस्त्र प्रहरीका अनुसार १२ जना नै यार्सागुम्बा खोज्न बोलिनतिर गएका थिए । घटना भएको स्थान सशस्त्र प्रहरीको छाङ्रु गुल्मबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ । तर बाटो भिरालो र अफ्ठ्यारो भएकाले घटना भएको स्थान पुग्न साढे ३ घन्टा लाग्ने बताइएको छ ।

प्रतिक्रिया