आइतबार, जेठ ६, २०८१

उपसचिव भट्टराईविरुद्ध एक करोड १५ लाख भ्रष्टाचारको मुद्दा दर्ता

मेरोन्यूज २०८० वैशाख १९ गते १७:१३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारामा कार्यरत उपसचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

Advertisement

सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनी सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

उनको वैध आम्दानी एक करोड ९२ लाख एक हजार ९२२ रहेको आयोगले जनाएको छ । तर, उनको खर्च तीन करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ देखिएको छ ।

अख्तियारले भट्टराईविरुद्ध एक करोड १५ लाख २९ हजार बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको छ ।

प्रतिक्रिया