आइतबार, जेठ ६, २०८१

सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन परराष्ट्र मन्त्रालयको आग्रह

मेरोन्यूज २०८० वैशाख १८ गते १३:३४

काठमाडौं । परराष्ट्र मन्त्रालयले सुडानमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास भइरहेकाे जनाएको छ। मन्त्रालयले एक विज्ञेप्ती जारी गर्दै त्यहाकाे हालसम्मको अवस्थाबारे जानकारी दिएकाे छ ।

Advertisement

सुडानमा रहेका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखिएको मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरु बाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास, कायरोसँग सम्पर्कमा रहेका छन्।

कायरोस्थित नेपाली राजदूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ। यसअघि नै एक जना नेपाली सकुशल जेद्दा पुगेको र जेद्दा आइपुगेका सबै नेपालीहरुको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको पनि मन्त्रालयको भनाई छ।

नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जना नेपालीहरुमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेका छन्। यस्तै, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको छ भने तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको छ।

प्रतिक्रिया