आइतबार, जेठ ६, २०८१

मृत भेटिएकी नर्स अनुमाका परिवारले दिए प्रेमीसहित दुई जनाविरुद्ध जाहेरी

मेरोन्यूज २०८० वैशाख १८ गते १२:१५

काठमाडौँ । प्रेमीको घरमा मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका परिवारले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराएका छन् । परिवारले प्रेमी भनिएका डा.सुजन ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका हुन् ।

Advertisement

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिवार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् ।

अनुमाको परिवारले विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गरेको हो । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले मृतक श्रेष्ठको परिवारले ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको र त्यो जाहेर िदर्ता गरिएको जानकारी दिए ।

डीएसपी कुँवरले अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको र पुर्जी प्राप्त भएपछि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने बताए ।

अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटा पक्षले अस्वीकार गरेको बताइएको छ ।

अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटापक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।

अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समेत समावेश गरेकी थिइन् ।

प्रतिक्रिया