शनिबार, जेठ ५, २०८१

मिठाईदेवी विश्वकर्मालाई बद्री पहाडी समाजसेवा पुरस्कार

मेरोन्यूज २०८० वैशाख १० गते १२:२५

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’२०७९ मिठाईदेवी बिश्वकर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

Advertisement

झण्डै सात दशकदेखी सामाजिक न्यायको क्षेत्रमा गरेको महत्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले बिश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२०८० मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसमा आयोजना गरिने कार्यक्रममा १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित बिश्वकर्मालाई पुरस्कृत गरिने समाजले जनाएको छ ।

१९९३ फागुन १० गते इन्द्रचोक काठमाण्डौमा जन्मिएकी विश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुन् ।

पशुपतिनाथ मन्दिरमा ‘कुकुर र अछुतलाई प्रवेश निषेध’ गरिदै आएकोमा त्यसको विरोध गर्दै वि।स २०११ सालमा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनी सक्रिय रुपमा सहभागी भएकी थिइन् ।

उनले भारतीय दलित साहित्य अकादेमीद्वारा प्रदान गरिने डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार लगायत १० पुरस्कार तथा सम्मान प्राप्त गरिसुकेकी छन् । मदर्स केयर स्कुलको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्रावासको स्थापनामा पनि उनको सक्रिय सहभागिता रहेको थियो ।
स्रष्टा बिश्वकर्माको ‘नेपाली नारीको अवस्था र अवस्थिति २०६१’ नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन् ।

प्रतिक्रिया