आइतबार, जेठ ६, २०८१

बढुवा भएका १३ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

मेरोन्यूज २०८० वैशाख ७ गते २१:१८

काठमाडौँ । नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

Advertisement

गत चैत २९ गते बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआइजी पदमा बढुवा भएका १३ डिआइजीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको हो । उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

डिआइजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गृह मन्त्रालयलगायत नेतृत्व तह प्रहरी सङ्गठनलाई सुधार, सुदृढीकरण र सबलीकरण गर्न प्रतिबद्ध रहेकाले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने बताए ।

उनले पदोन्नति भएका प्रहरी अधिकृतले आफूले प्राप्त गरेको पदीय जिम्मेवारीलाई अझ फरक ढङ्गले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढेमा काम गर्नका लागि मनोबल, उत्प्रेरणा र इच्छाशक्ति प्राप्त हुने बताए । नागरिकको मर्का र समस्यालाई सहजीकरण गर्दै तल्लो तह र सीमान्तकृत वर्गको सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्नु पर्ने उनको भनाइ थियो ।

आपराधिक क्रियाकलापमा प्रहरी कर्मचारीहरू संलग्न भएको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने उनले बताए । उनले तस्करी, सीमा अपराध र राजस्व चुहावट रोक्न अझ बढी सक्रिय र आक्रामक भएर काम गर्नु पर्ने बताए ।

पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पदोन्नतिको अवसर प्रदान गर्नु हुने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ऐन, कानून, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म सङ्गठनको श्रीवृद्धिमा समर्पित हुने बताए ।

प्रतिक्रिया