मंगलबार, जेठ १, २०८१

कांग्रेसको इतर समूहबाट मन्त्री को-को, शपथ कहिले ?

मेरोन्यूज २०८० वैशाख ७ गते १२:११

काठमाडौँ । वर्तमान पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गठबन्धनमा आबद्ध दलहरूको सहमतिमा ८ मन्त्री र एक राज्यमन्त्री पाएको थियो ।

Advertisement

कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ युवा तथा खेलकुद‚ संघीय माकिला तथा सामान्य प्रशासन‚ स्वास्थ्य तथा जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने सहमति १६ चैतमा भएको थियो । तर, पार्टीभित्रको आन्तरिक सहमति नमिल्दा अहिलेसम्म कांग्रेसले ५ मन्त्रीमात्रै सरकारमा पठाएको छ ।

पार्टीभित्रको संस्थापन र संस्थापन इतर समूहबीच सहमति नहुँदा अहिलेसम्म आफूले पाएका पूरै मन्त्रालयमा कांग्रेसले नाम पठाउन नसकेको हो ।

कांग्रेसबाट उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर उपसभापति पूर्णबहादुर खड्का गएका छन् । त्यस्तै अर्थमन्त्रीमा प्रकाशशरण महत, परराष्ट्रमन्त्रीमा नारायणप्रकाश (एनपी) साउद, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीमा सीता गुरुङलाई सभापति शेरबहादुर देउवाले मन्त्री बनाएर पठाएका छन् । साउदलाई बैशाख ३ गते र अन्य चार मन्त्रीलाई १७ चैतमा प्रधानमन्त्री दाहालले मन्त्री बनाएका थिए ।

सरकारमा कांग्रेसबाट सहभागी सबै मन्त्री संस्थापन पक्षमा हुन् ।

बाँकी तीन मन्त्रालय संस्थापन इतर समूहलाई दिन देउवाले सहमति जनाइसकेका छन् । तर उपनिर्वाचनको आचारसंहिता रहेकाले अहिले मन्त्रीहरू सिफारिस नभएको कांग्रेसले बताएको छ । सहमहामन्त्री जविन परियारले उपनिर्वाचन लगत्तै पार्टीबाट जाने मन्त्रीहरू सिफारिस गरिने बताए ।

संस्थापन इतर समूहको भागमा परेको तीन मन्त्रालयमा इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले भागबण्डा गरेका छन् । नेता कोइरालालाई दुई र थापालाई एक मन्त्रालयको भागबण्डा समूहबीच भएको एक नेताले जानकारी दिए ।

नेता कोइरालाले आफ्नो भागमा परेका दुई मन्त्रीमा उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने निर्णय गरिसकेका छन् । तर महामन्त्री थापाले भने कसलाई पठाउने भन्ने निक्र्यौल गरिनसकेको एक नेताले बताए ।

महामन्त्री थापा प्रदीप पौडेललाई मन्त्री सिफारिस गर्ने तयारी गरे पनि सभापति देउवाले पौडेललाई राज्यमन्त्री मात्रै दिन सक्ने बताएपछि अर्को पात्र खोजिरहेको तर नाम सिफारिस गरिनसकेको गगन निकट स्रोतले बतायो ।

स्रोतका अनुसार ११ बैशाखमा बाँकी मन्त्रीलाई शपथ खुवाउने तयारी प्रधानमन्त्री दाहालको रहेको र त्यसै अनुसार नाम सिफारिस गरिने देउवाको सचिवालयले जानकारी दियो ।

आफ्नो समूहमा परेका मन्त्रीहरूको नाम सभापति देउवाले सिफारिस गरिसकेको, अर्को समूहका भागमा परेका मन्त्रीहरूको नाम मागिएको तर प्राप्त नभएको सचिवालय स्रोतले बतायो ।

अब कांग्रेसको भागमा परेका मन्त्रालय मध्य संघीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालय बाँकी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माओवादी सांसद अमनलाल मोदी मन्त्री छन् । यो मन्त्रालय कांग्रेसको भागमा परेकाले उनलाई अर्को कुनै मन्त्रालयमा सारेर कांग्रेसलाई यो मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ ।

प्रतिक्रिया