बुधबार, जेठ २, २०८१

मन्त्रिपरिषद्लाई पूर्णता दिनै प्रधानमन्त्रीलाई महाभारत

आठ पटकको प्रयासमा पनि ५ मन्त्रालय आफैसँग, कहिले-कहिले भयो मन्त्रिपरिषद् विस्तार

मेरोन्यूज २०८० वैशाख ३ गते १२:३५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसका नेता एनपी (नारायणप्रसाद) साउदलाई परराष्ट्रमन्त्री बनाएर प्रधानमन्त्री दाहालले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

Advertisement

साउदले दिउँसो तीन बजे परराष्ट्रमन्त्रीको शपथ लिने कार्यक्रम तय भइसकेको छ । मुख्यसचिव शंकरदाश बैरागीले मन्त्रिपरिषद् विस्तार हुने भएकाले शपथका लागि दिउँसो तीन बजे समय उपलब्ध गराउन र व्यवस्थापन गर्न राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई पत्राचार गरिसकेका छन् ।

सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालबीच शनिबार भएको सहमति अनुसार साउदलाई परराष्ट्र मन्त्रालयको जिम्मेबारी दिन लागिएको हो । साउदलाई परराष्ट्रमन्त्री बनाउने पत्र देउवाले प्रधानमन्त्रीलाई पठाइसकेका छन् ।

तर, आठौँ पटक विस्तार गर्दा पनि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल १० पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन सांसदको समर्थनमा प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्री भएपछि पहिलो पटक दाहालले ११ पुसमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात र रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालय तथा एमालेबाट दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह तथा जनमत पार्टीका अब्दुल खानलाई विनाविभागीय मन्त्रीको शपथ खुवाएर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

त्यो पहिलो गठबन्धनमा रहँदा दाहालले दोस्रो, तेस्रो र चौँथो पटक माघ ३, १४ र २३ गते मन्त्रिपरिषद् विस्तार गरे ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेबारेमा पहिलो गठबन्धनमा गडबढी भयो । प्रधानमन्त्री दाहाल र उनको पार्टी माओवादी त्यसबेलाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकियो ।

फलस्वरुप तत्कालिन सत्ता गठबन्धनमा रहेका एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिए । त्यसपछि प्रधानमन्त्री दाहालले फागुन १६ र १६ गते एमाले र राप्रपाका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत गर्दै ती मन्त्रीहरूले संहाल्दै आएका मन्त्रालय आफैले राख्ने निर्णय लिएर मन्त्रिपरिषद्लाई पाँचौ र छैटौँ पटक विस्तार गरे ।

१७ चैतमा सातौँ पटक विस्तार गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मन्त्री बनाएर सरकारमा भित्र्यााए ।

आज आठौँ पटक विस्तार गर्दै साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिँदैछन् । तर, यो पटक पनि मन्त्रिपरिषद्ले पूर्णता पाउने छैन ।

आज साउद परराष्ट्रमन्त्री भएपछि मन्त्रिपरिषद् १८ सदस्यीय हुनेछ ।

अझै प्रधानमन्त्रीको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय रहने छन् ।

प्रतिक्रिया