आइतबार, जेठ ६, २०८१

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ जनाले हाम फालेर ज्यान बचाए

मेरोन्यूज २०७९ चैत २९ गते ६:४०

काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ भने जिपमा सवार ५ जनाले भने हाम फालेर ज्यान जोगाएका छन् ।

Advertisement

जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका– ५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

दुर्घटनाको समयमा जिपमा १२ जना रहेकोमा ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए । जीप सडकबाट खस्ने क्रममा हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट शव ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

उकालो सडकमा गुडीरहेको जीप एक्कासी पछाडी आएको र भिरमा खसेको जीपमा सवार जङ्गी बोहराले बताए।

प्रतिक्रिया