आइतबार, जेठ ६, २०८१

दुई करोड घुस माग्ने सांसदमाथि छानबिन गर्न संसदमा माग, कसले के भने ?

मेरोन्यूज २०७९ चैत २७ गते २०:४५
ढाकाकुमार श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले करोडौँ घुस मागेको अडियो सार्वजनिक भएसँगै संघीय संसदको दुवै सदनमा सांसदहरूले प्रश्न उठाएका छन् ।

Advertisement

सोमबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सांसद श्रेष्ठको घुस मागेको संवादको विषयमा सांसदहरूले छानबिन गर्न माग राखेका हुन् । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो ।

अधिकांश सांसदले बैठकमा सांसद श्रेष्ठलाई कारबाही गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप लगाए । सांसदहरूले मन्त्री बन्नका लागि घुस माग्ने सांसदलाई सरकारले छाड्न नहुने भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले रास्वपाका सांसद श्रेष्ठको टेलिफोन संवाद छानबिन गर्न संसदीय समिति गठनको माग गरे । उनले श्रेष्ठको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै संसदले संसदीय समिति बनाएर निष्पक्ष छानबिन हुनु पर्ने बताएका हुन् ।

फोन संवादमा साढे दुई करोड रुपैयाँ कोर टिमलाई बुझाउनु पर्छ भनेको भन्दै कोर टिमको समेत छानबिन आवश्यक रहेको बताए । सांसद गुरुङले संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्न नहुने बताए ।

त्यस्तै, बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको अरोप लगाए । उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्य मन्त्री हुन मेडिकल व्यवसायीसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको बताए ।

यता राष्ट्रियसभामा नेकपा एमालेकी सांसद दिलकुमारी थापा रावल (पार्वर्ती)ले दुई करोड घुस माग्ने सांसदबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग मागेकी छन् । उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले सांसद श्रेष्ठले घुस माग गरे/नगरेको सत्यतथ्य छानबिन गरी कारबाही गर्नु पर्ने बताइन् ।

उनले त्यस्ता घटना सत्य भए/नभएको तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नु पर्ने बताइन् । उनले सरकारलाई संविधान र कानूनअनुसार अघि बढ्न पनि ध्यानाकर्षण गराएकी थिइन् ।

एमालेका सांसद ऋषिकेश पाखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरे । उनले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुग्दा अरु मालदार मन्त्रीहरूको कति होला ? भन्दै प्रश्न गरे । उनले भ्रष्टाचारकै कारण नेताहरू सामाजिक रुपमै बहिष्करमा पर्न सक्ने चेतावनी दिए ।

अर्का सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषय बाहिर आउन नपाउँदै सांसदले दुई करोड घुस मागेको अडियो बाहिर आएको बताए ।

उनले स्वास्थ्यमन्त्री बन्ने सांसद श्रेष्ठले व्यवसायीलाई मन्त्री बनेर अस्पताललाई दिने लेटर अफ इन्टेन शिक्षा मन्त्रालयले दिन्छ भन्ने ज्ञानसमेत नभएको देखिएको बताए । उनले अडियो झुटो भए छानबिन गरी दुर्गा प्रसाईंलाई कारबाही गर्नु पर्ने माग राखे ।

यस्तै, रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेका थिए । उनले अडियो सार्वजनिक घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरेका हुन् ।

उनले संसदको गरिमा बढाउने रास्वपाको अभियानमा अक्षुण रहने भन्दै यो घटनाले विचलित हुने नहुने बताए । उनले राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनु पर्ने बताए । अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले बताएका थिए ।

उनले घुस माग्ने अडियो सार्वजनिक घटना पहिलोपटक नभएको भन्दै विगतमा पनि यस्ता घटना भएको र सबैको सत्यतथ्य छानबिन हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया