मंगलबार, जेठ १, २०८१

०१५ सालदेखि अहिलेसम्म क-कसले निर्वाचन जिते बारामा ?

बारा-२ मा हुन लागेको उपनिर्वाचनमा कस्ले मार्ला बाजी ?

मेरोन्यूज २०७९ चैत २६ गते १०:१४

काठमाडौं । २०१५ सालमा नेपालमा पहिलो पटक भएको निर्वाचनमा बारा जिल्लामा तीन निर्वाचनन क्षेत्र थिए । ती निर्वाचन क्षेत्रको नाम ५१, ५२ र ५३ थियो । त्यसबेला तीनै क्षेत्र कांग्रेसले जितेको थियो । निर्वाचन क्षेत्र नम्बर ५१ बाट कांग्रेसका भागवत यादवले ८ हजार ९५ मतका साथ जितेका थिए ।

Advertisement

निर्वाचन क्षेत्र ५२ बाट कांग्रेस नेता सुवर्णसमशेर जबरा ७ हजार २२१ मत पाएर विजयी भए । कांग्रेस नेता सुवर्ण ५३ बाट पनि ८ हजार ८६४ मतका साथ जितेका थिए ।

०३७ सालको जनमत संग्रहमा बारा निर्दलको पक्षमा ६३ हजार र बहुदलको पक्षमा ३९ हजार मत खसेको थियो । ०३८ सालको पञ्चायती निर्दलीय चुनावमा बारामा दुई निर्वाचन क्षेत्र थिए । त्यसबेला कांग्रेसका पूर्वसांसद भागवत यादवले पञ्चायतमा प्रवेश गरेर २६ हजार ११३ मतका साथ राष्ट्रिय पञ्चायतको निर्वाचन जिते । अर्को क्षेत्रमा रामानन्द प्रसाद यादवले २२ हजार २२६ मत पाएर जिते ।

त्यस्तै ०४३ को अर्को पञ्चायती चुनावमा चन्दा शाह र विश्वनाथ प्रसाद जयसवाल निर्वाचित भए ।

बहुदल पुनःस्थापना भएपछि भने बारामा मिश्रित परिणाम आउने गरेको देखिन्छ ।

०४८ सालको निर्वाचनमा बारामा ४ वटा निर्वाचन क्षेत्र तय भएकामा तीन क्षेत्रमा एमाले र एक क्षेत्रमा कांग्रेसले जितेको थियो ।
१, २ र ४ बाट एमाले उम्मेदवारहरू क्रमशः मुकुन्द न्यौपाने, सोहनप्रसाद चौधरी र ४ बाटसलीम मिया अन्सारी निर्वाचित भए । क्षेत्र नम्बर ३ बाट कांग्रेसका ऋषिकेष गौतम निर्वाचित भए ।

०५१ सालको मध्यावधि चुनावमा पनि एमाले ३ र कांग्रेसले एक क्षेत्रमा जिते । १ बाट एमालेका मुकुन्द न्यौपाने, २ बाट कांग्रेसका राधेचन्द्र यादव, ३ बाट एमालेका पुरुषोत्तम पौडेल र ४ बाट एमालेका सलीम मिया अन्सारी निर्वाचित भए ।

०५६ सालको निर्वाचनमा भने कांग्रेस एमालेसँगै सदभावना पार्टी पनि बारामा थपियो । त्यो निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका उमाकान्त चौधरी, २ बाट एमालेका सोहनप्रसाद चौधरी, ३ बाट कांग्रेसका ऋषिकेश गौतम र ४ बाट कांग्रेसका फरमुल्लाह मन्सुर निर्वाचित भए ।

०६४ सालपछि भने बाराको नतिजामा मधेसकेन्द्रित दलहरू हावी भएको देखिन्छ । ०६४ को निर्वाचनमा बारामा ६ निर्वाचन क्षेत्र बने ।

पहिलो संविधानसभामा क्षेत्र नम्बर १ मा सदभावना पार्टीका सरोजकुमार यादव, २ बाट माओवादीका शिवचन्द्र कुशवाह, ३ बाट मधेसी जनअधिकार फोरम (हाल जसपा) का प्रमोद प्रसाद गुप्ता, ४ बाट तमलोपाका जितेन्द्र प्रसाद सोनार, ५ बाट कांग्रेसका उमाकान्त चौधरी र ६ बाट माओवादीका जयराम दाहाल निर्वाचित भए ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा बारा १ मा कांग्रेसका राम अयोध्या प्रसाद यादव, २ बाट कांग्रेसका राधेचन्द्र यादव, ३ बाट कांग्रेसका फरमुल्लाह मन्सुरले जिते ।

०७४ को निर्वाचनमा बारा १ बाट नेपाली कांग्रेसका उमाकान्त चौधरी, २ बाट तत्कालीन फोरम (हाल जसपा) का रामसहाय यादव (वर्तमान उपराष्ट्रपति), ३ बाट तत्कालीन फोरम ( हाल जसपा) का रामबाबु कुमार यादव, ४ बाट एकवाल मियाँ निर्वाचित भए ।

२०७९ मंसिर ४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका अच्युत प्रसाद मैनाली, २ बाट जसपाका रामसहाय प्रसाद यादव (वर्तमान उपराष्ट्रपति), ३ बाट एमाले उम्मेदवार ज्वाला कुमारी साह, ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित भए ।

बारा–२ मा उपनिर्वाचन हुँदैछ बैशाख १० गते । त्यहाँ १ लाख ५ हजार २ सय ४८ जना मतदाता छन् । उपनिर्वाचनका लागि ३६ जनाको उम्मेदवारी परेको छ ।

जसपाबाट उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा र आम जनता पार्टीबाट अरुणकुमार ज्ञवाली उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वडीआइजी रमेश खरेल प्रतिष्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया