मंगलबार, जेठ १, २०८१

तनहुँ १ उपचुनाव

चुनाव जित्न डा. स्वर्णिम वाग्लेको ५ रणनीति

कांग्रेस मतदातासँग ब्लाकमेलिङ : गोबिन्द भट्टराई राष्ट्रिय सभामा जान्छन्, मत मलाई दिनुस्

शितल शर्मा २०७९ चैत २४ गते १३:४७

काठमाडौं । अर्थविद् डा स्वर्णिम वाग्ले उपचुनावमा तनहुँ १ बाट उम्मेदवार छन् । चुनावी उम्मेदवारकै लागि कांग्रेसका सभापति शेरवहादुर देउवा र देउवा पत्नी डा आरजु राणालाई विभिन्न आरोप लगाउँदै उनले कांग्रेसका दुई महामन्त्रीलाई पार्टी छोडेको सन्देश दिएर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे ।

Advertisement

रास्वपाबाटै उनी अहिले तनँहु १ बाट उम्मेदवार बने ।

रास्वपा प्रवेश गर्नु अगाडी वा उम्मेदवार हुनु अगाडी उनी राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकार समेत बन्न खोजेका थिए । तनहुँ १ बाट उनले कांग्रेसबाटै उम्मेदवार बन्न पनि खोजेका थिए । तर कांग्रेसले लामो समयसम्म टिकट नपाई पछाडी पारिएका गोविन्द भटटराईलाई उम्मेदवार बनाउने देखेपछि उनले कांग्रेस छोडे । रास्वपा प्रवेश गरे र रास्वपाबाट उम्मेदवार बने ।

उम्मेदवार बनेपछि अहिले उनी तनहुँ १ का मतदाताका बीचमा मत माग्न ब्यस्त छन् ।

गत मंसिर ४ मा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

बैशाख १० मा उपचुनाव हुन लागेको त्यस क्षेत्रमा रास्वपाबाट डा स्वर्णिम वाग्ले, कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

डा वाग्ले जसरी पनि प्रतिनिधिसभा प्रवेश गर्नका लागि कांग्रेस छोडेर रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । यधपी रास्वपामा उनको पदीय हैसियत अहिले खुलेको छैन । उनले आफु रवि लामिछानेको पार्टीको सामान्य कार्यकर्तामात्र रहेको भन्दै तनहुँमा अहिले आफनो लागि मत मागिरहेका छन् ।

चुनाव जित्नका लागि डा स्वर्णिमले मुख्य ५ वटा रणनीति अख्तियार गरेका छन् ।

पहिलो, रवि लामिछानेको नाममा मत बटुल्ने, दोस्रो, मतदाता जुनकुनै पार्टीको भएपनि पार्टी, मन नबदल्नुस मात्र एकपटक भोट बदल्नुस भन्दै आफनो लागि वातावरण बनाउने, तेस्रो, कांग्रेसका गोविन्द भटटराई राष्टिय सभामा जान्छन्, प्रतिनिधिसभामा आफुलाई पठाउनुस् भन्दै कांग्रेसकै मतदातासँग ब्याल्कमेलिङ गर्ने, चौथो, कांग्रेस छोडेर निरन्तर बागी बनिरहेका गोविन्दराज जोशीलाई फकाउने र पाँचौं आफुलाई अब्बल बौद्दिक ब्यक्तिका रुपमा प्रचार गरी जित निकाल्ने ।

डा स्वर्णिम तनहुँ १ कांग्रेसको बलियो जग भएको र त्यहाँ कांग्रेसका उम्मेदवारलाई मतदाताबाट कटाउन सकिए आफुले जित निकाल्न सक्ने बुझाईमा छन् । त्यही कारण पनि उनले कांग्रेसका उम्मेदवार गोविन्द भटटराई राष्टिय सभामा जाने भएकोले आफुलाई प्रतिनिधिसभामा जिताईदिन मतदातासँग अनुनय गरिरहेका छन् ।

डा वाग्लेले मतदाताका वीचमा सक्दो आफु रविको पार्टीको उम्मेदवार भएको र मत दिन आग्रह गरिरहेका छन् । उनले आफनो बौद्दिक ब्रान्ड भन्दा रवि लामिछानेको पोष्टर मतदाता कहाँ बुझाउन सकिए आफनो जित निकाल्न सक्ने मत आउनसक्ने ठानेका छन् । त्यही भएर उनी जहाँँ जहाँ अहिले मत माग्न पुगिरहेका छन्, त्यहाँका मतदातासँग आफु रविको पार्टीको उम्मेदवार भनेर चिनाईरहेका छन् ।

मतदातालाई चिनाउने उनको एउटै शैली छ-

‘म रवि लामिछानेको पार्टीको उम्मेदवार डा स्वर्णिम वाग्ले । घण्टी चुनाव चिन्ह । अरुले के–के भने म त्यसो भन्दिन , अव अर्थतन्त्रका कुरा गरौं, रोजगारीका कुरा गरौं, उधोग कलकारखानाका कुरा गरौं, मेरो अनुभव त्यसैमा छ । त्यसलाई सुधार गर्न मलाई मत दिनुस् ।’

उनले रविलाई जतिसक्दो आफनो निर्वाचन क्षेत्रमा मतदाताका बीचमा लैजान सकिन्छ, त्यसमा आफनो मत बढ्ने ठानेका छन् । त्यही कारण पनि उनले आफनो उम्मेदवारी दर्ताका दिन रवि लामिछानेलाई कुरेर मात्रै सँगै साथ लिएर उम्मेदवारी दर्ता गराए । केही मतदाता कहाँ रवि लामिछानेलाई अगाडी लगाउँदै उनले मत मागे ।

अहिले पनि उनको यो उपक्रम चलि नै रहेको छ ।

रवि आफै उपचुनावमा चितवन २ बाट उम्मेदवार छन् । रविको आफनो निर्वाचन क्षेत्रमा समेत खटनुपर्ने बाध्यताका बीच डा स्वर्णिमले भने कति सकिन्छ, आफनो निर्वाचन क्षेत्रमा रविलाई लगेर जान पाए आफनो जितको वातावरण बन्ने ठानेका छन् ।

त्यसका लागि उनले रविलाई जतिसक्दो तनहुँ १ मा उतार्ने चुनावी रणनीति बनाएको उनको चुनावी प्रचारमा खटिएका नेता कार्यकर्ताको तर्क छ ।

त्यसमाथी डा वाग्लेले तनहुँका मतदातालाई चुनावको मुखमा पार्टी बदल्न आग्रह गरेका छैनन । उनलाई रास्वपाको संगठन बढोस् भन्ने चाहना पनि देखिदैन । मात्र उनी कसरी आफु चुनाव जित्ने भन्नेमा मात्र ध्यान केन्द्रीत गरिरहेका छन् । त्यसका लागि उनले मतदाता कहाँ पुगेर पार्टी नबदल्नुस, यसपटक मात्र भोट बदल्नुस र घण्टीमा मत हाल्नुस् भनिरहेका छन् ।

उनले आफु क्षमतावान, केही गर्नसक्ने खुवी भएको नेता भएकोले पनि यसपटक आफनो लागि मत दिन अनुनय विनय गरिरहेका छन् ।

त्यसो त उनले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईका कटटर समर्थक् र मतदाताका वीचमा भने गोविन्द राष्टिय सभामा जाने र आफुलाई प्रतिनिधिसभामा पठाउन आग्रह गरिरहेका छन् । कांग्रेसको राजनीतिमा बर्षै लागेर पनि गोविन्दले अवसर नपाएको र बल्ल–बल्ल उनका लागि प्रतिनिधिसभाको टिकट मिलेकोले उनलाई न्याय गर्नुपर्ने तनहुँ कांग्रेसका नेता कार्यकर्ताको भावना देखिएको छ । त्यो बुझेर नै डा वाग्लेले गोविन्दलाई राष्टिय सभामा लैजान सहमति बनिसककेो भन्दै कांग्रेसका मतदातासँग ब्याल्कमेलिङ गरेर मत मागिरहेका छन् ।

अहिलेका राष्टपति रामचन्द्र पौडेल गत मंसिरमा चुनाव लड्दै गर्दा नै गोविन्दलाई अन्याय हुन नदिन राष्टिय सभामा लैजाने विषयमा सहमति भईसकेको भन्दै उनले गोविन्दलाई त्यही सहमतिका आधारमा राष्टिय सभामा लैजान्छन् भन्दै तनहुँबाट आफुलाई प्रतिनिधिसभामा लैजान उनले कांग्रेसका मतदातासँग आग्रह गरिरहेका छन् ।

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई कांग्रेसका अहिलेका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भन्दा पूरानो नेविसंघका अध्यक्ष भएर संगठन हाकिसकेका नेता हुन् । तर राजनीतिमा उनले अबसर पाउन सकेनन । जसकाकारण उनीमाथी अन्याय भएको कांग्रेस वृतमै चर्चा चलिरहेका बेला गोविन्दले उपचुनावमा तनहुँ १ मा टिकट पाएका हुन् ।

तनहुँ १ माओवादी केन्द्रको रोल्पा, रुकुम जस्तै आधार क्षेत्र भएको निर्वाचन क्षेत्र हो । कांग्रेसका गोविन्द भट्टराईलाई बल्ल न्याय मिलेको भनी ठान्ने कटटर समर्थकको मत आफुतिर नआउने देखेपछि डा स्वर्णिमले त्यस्तो नीति लिएका हुन् ।

उनले गोविन्दलाई अन्याय नहुने भन्दै राष्टिय सभामा जाने बताउँदै कांग्रेसको मत आफुतिर तान्ने कोसिस गरिरहेका छन् ।

यो क्षेत्रमा गत मंसिरमा भएको चुनावमा रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । प्रतिस्पर्धी एमालेका एकवहादुर राना मगरले १९, ९८१ मत पाएका थिए। तेस्रोमा रहेका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६, ८८६ मत पाएका थिए ।

समानुपातिकतर्फ यस क्षेत्रमा कांग्रेसले २०,१५८ एमालेको १६,६८३, रास्वपाले १२,७७३ र माओवादी केन्द्रले ७,३२६, राप्रपाले ३,५७७ मत पाएका थिए ।

स्वर्णिमले अहिले कांग्रेसबाट असन्तुष्ट बनेर मंसिरमा सम्पन्न भएको चुनावमा स्वतन्त्र उठेका र ६ हजार बढी मत ल्याएका गोविन्दराज जोशीको मत तान्ने, आफ्नो बौद्धिकताको सक्दो प्रचार गर्ने र त्यसबाट पनि लाभ लिने गरी चुनावी रणनीति बनाएका छन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया