आइतबार, जेठ ६, २०८१

कांग्रेस नेता डा. भण्डारीको स्वास्थ्यमा सुधार

मेरोन्यूज २०७९ चैत २३ गते २१:१४

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ ।

Advertisement

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनुभएका डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो ।

गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनी निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिए । “डा भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, कलमी छालाले राम्रो काम गरिरहेको छ”, न्यौपानेले भने ।

पछिल्लो समय डा. भण्डारीलाई ज्वरो समेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको न्यौपानेले बताए । डा. भण्डारीलाई दैनिक तीन–चार पटक हिँडाउने गरिएको छ ।

आगलागीमा परी सांसद डा. भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

प्रतिक्रिया