मंगलबार, जेठ १, २०८१

उपचुनावमै उम्मेदवारविहिन माओवादी

माओवादीको घट्दो जनाधार, चिन्ता गर्ने कसले ?

५ वर्षमा एउटा निर्वाचन क्षेत्रबाट झण्डै ७ हजार मत माओवादीको घटिरहेको तथ्यांकले देखाउँछ

शित्तल शर्मा । काठमाडौं २०७९ चैत २२ गते २१:२५

बारा क्षेत्र नम्बर २ मा २०७४ को स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा १०,५४४ मत माओवादीसँग थियो । ५ वर्षकै अन्तरालमा माओवादीसँग अहिले त्यो मत छैन । २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको मतलाई आधार मान्दा ३,२६५ मत मात्रै माओवादीको छ ।

Advertisement

यसरी हेर्दा माओवादीसँग ५ वर्षको अन्तरालमा बारा २ मा ७,२७९ मत घटेको छ । मंसिर ४ मा बाराको यो क्षेत्रमा माओवादीका शिवचन्द्र कसुवाह प्रतिनिधिसभा सदस्यका उम्मेदवार उठेका थिए । उनलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा लगायतका दलहरुको साथ थियो । त्यसो हुँदा समानुपातिक मतमा माओवादी निर्वाचन क्षेत्रमा सातौं पोजिसनमा खुम्चेपनि प्रत्यक्षमा जम्माजम्मी ३४५ मतले शिवचन्द्र कुसुवाह पराजित भएका थिए ।

तर अहिले माओवादीले यो क्षेत्रमा आफनो पार्टीको मत कति छ ? भन्ने टेष्ट नै गर्न पाएन । अर्थात भनौं, माओवादीको यो क्षेत्रमा बैशाख १० मा हुन लागेको उपचुनावमा उम्मेदवार नै भएन । उपचुनाव हुन लागेका ३ वटा निर्वाचन क्षेत्र (बारा २, चितवन २ र तनहुँ १) कँही पनि माओवादी उम्मेदवार छैनन् ।

माओवादीले बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ मा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्द भटटराईलाई चुनावमा सघाउन लागेको छ ।

यस अर्थमा माओवादीलाई यो उपचुनाव हर्ष न विस्मात जस्तै हुन पुगेको छ ।

तीन निर्वाचन क्षेत्रमा उपचुनाव भएपनि त्यसको चर्चा देशभर छ । नेपालको राजनीतिमा निर्णायक ‘थर्ड पोल’ का रुपमा रहेको माओवादी उपचुनावमा कँही कतै सिनमै छैन । मात्र उसको भूमिका मतदाताको छ ।

यसले पार्टीलाई निरन्तर ओरालो लगाउने र विघटनमा पु¥याउने मात्र काम भईरहेको माओवादीकै नेताहरुको बुझाई छ । पार्टी नेतृत्वले लिईरहेको यस्तो निर्णयमा माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु भने खुसी देखिएका छैनन ।

‘गठबन्धनमा भागवन्डा र चुनावमा उम्मेदवार समेत पार्टीको नहुँदा पार्टी संगठन निरन्तर ओरालो मात्रै लागिरहेको छ, यो राम्रो होइन,’माओवादी केन्द्रका प्रभावशाली युवा नेता लेखनाथ न्यौपाने मेरोन्यूजसँग भन्छन्,–‘यस्तो परिस्थितीले माओवादी पार्टी बन्दैन, विघटनको दिशामा ओरालो मात्रै लाग्छ ।’

२०७४ को स्थानीय तहमा माओवादी बारा २ भित्र पर्ने कोहल्वी नगरपालिकाको वडा नं ८ सहित महागढीमाई, पचरौता नगरपालिका, सुवर्ण, देवताल र करैयामाई गाँउपालिकामा एक्लै चुनाव लडेको थियो ।

एक्लै चुनाव लड्दा चुनावी परिणाम सन्तोषजनक ल्याउन नसकेपनि संगठन, मतदाता माओवादीको बढ्दो मात्रामा थियो । तर त्यसपछिको प्रतिनिधिसभा चुनाव, २०७९ को स्थानीय चुनाव र गत मंसिर ४ को प्रतिनिधिसभा चुनावसम्म आउँदा माओवादीको संगठन निर्वाचन क्षेत्रमा कमजोर बनेको छ । मतदाता संख्या घट्दो मात्रामा छ ।

‘उपचुनावमा उम्मेदवार नै नहुँदा प्रतिवद्ध बाहेक अन्य माओवादी मतदाता, शुभेच्छुक माओवादीसँग रहन्नन् । दायाँबायाँ लागिहाल्छन् । यो ओरालो यात्रा हो । यसले माओवादीलाई विघटन बाहेक अर्को केही गदैन ।’

लेखनाथ न्यौपाने, प्रभावशाली युवा नेता, माओवादी केन्द्र

बारा २ त एउटा प्रतिनिधिमूलक निर्वाचन क्षेत्र मात्र हो । देशभरका अन्य निर्वाचन क्षेत्रको अवस्था पनि उस्तै छ । २०७४ मा एक्लै चुनावी प्रतिस्पर्धा गरेर जितेका र झण्डै झण्डै जित्ने पोजिशनमा रहेका कतिपय स्थानयि तहमा माओवादी अहिले कांग्रेस, एमालेको तुलनामा निक्कै कमजोर सावित भएको छ । अझ कतिपय क्षेत्रमा नयाँ पार्टीका रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टीको भन्दा पनि कमजोर धरातलमा छ ।

शहरी क्षेत्रमा माओवादीको संगठनात्मक अवस्था दिनदिनै खस्कदो छ । काठमाडौं, चितवन, मकवानपुर, झापा, बाँके लगायतका महत्वपूर्ण शहरी क्षेत्रमा माओवादीको पोजिसन राप्रपाको भन्दा पनि दयनिय छ । माओवादीकै भाषामा भन्दा पश्चगमनकारी राजावादी पार्टी राप्रपाले शहरी क्षेत्रमा आशालाग्दो गरी ‘कमब्याक’ गरिरहँदा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता परिवर्तनको संवाहक शक्तिका रुपमा देखा परेको माओवादीको उपस्थिती ‘टच बालेर खोज्नुपर्ने’ अबस्थामा पुग्न थालेको छ ।

यसले पनि देखाउँछ माओवादीको हरेक निर्वाचन क्षेत्रमा कम्तीमा ५ वर्षको अन्तरालमा ७ हजार हाराहारी मतदाता घट्दो मात्रामा देखा परिरहेको छ । ५ वर्षको अन्तरालमा मतदाताका रुपमा आउने नयाँ पुस्तामा माओवादी पुग्नै सकेको छैन । निर्वाचन क्षेत्रमा न पार्टी उम्मेदवार, न मतपत्रमा पार्टीको चुनाव चिन्ह्र, जसकाकारण माओवादीले भित्रदै गरेको युवा पुस्तामा माओवादीको छाप छोडनै पाएका छैनन ।

निर्वाचन क्षेत्रमा माओवादीसँगै आश गरेर बसेका मतदाता र सुभेच्छुकहरुसँग पनि माओवादी क्रमशः कट्दै गएको छ । निर्वाचन क्षेत्रमा पार्टी उम्मेदवार नै दिन नसक्नु र केही सिटमा मात्र भएपनि चुनाव जित्नकै लागि अन्य दलहरुसँग गठबन्धनका नाममा बहुसंख्यक निर्वाचन क्षेत्रमा अर्काे पार्टीलाई सघाउने निर्णयमा माओवादी पुग्नुले माओवादीका प्रतिवद्द बाहेकका मतदाता र सुभेच्छुक माओवादीबाट कटिदै जान थालेका छन् ।

यस्तो हुनुमा माओवादीले चुनावमा आफ्ना उम्मेदवार दिन नसक्नु नै प्रमुख कारण भएको माओवादीका प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेको बुझाई छ । ‘देशभर उपचुनावको माहोल छ । चुनावी बहस र चर्चा छ । तर उपचुनाव हुन लागेको तीन वटै क्षेत्रमा न माओवादीको उम्मेदवार छ, न माओवादीको चुनाव चिन्ह्र नै मतपत्रमा हुनेछ, यसले कार्यकर्ताको चुनावी परिचालनमा माओवादी कँही कतै देखिदैन । चुनावी परिचालन भएको भए, पार्टी उम्मेदवार र चुनाव चिन्ह्र भएको भए चुनावै नजिते पनि संगठन बनाउने आधार बन्थ्यो, त्यो आधार हाम्रो गुमेको छ,’ लेखनाथ न्यौपाने भन्छन्,–‘अहिले निम्तेको जस्तो अवस्थामा प्रतिवद्ध बाहेक अन्य माओवादी मतदाता, शुभेच्छुक माओवादीसँग राहन्नन् । उनीहरु दायाँबायाँ लागिहाल्छन् । यो ओरालो यात्रा हो । यसले माओवादीलाई विघटन बाहेक अर्काे केही गदैन ।’

दलहरुका बीच चुनावी गठबन्धन नै गरेपनि उपचुनाव हुन लागेका तीन क्षेत्रमध्ये एकमा माओवादी हकदार बन्नुपर्ने थियो । त्यसमाथी बारा २ मा मंसिर ४ को चुनावमा माओवादी नै जसपासँग प्रतिस्पर्धी थियो । मतान्तर माओवादीका उम्मेदवारको कमै मात्र थियो । त्यो क्षेत्रमा पनि अहिले फेरि पार्टी उम्मेदवार नदिई जसपालाई सघाउने निर्णय माओवादी शीर्ष नेतृत्वले लिनुले माओवादी पार्टीमा निराशा मात्रै छाएको छ ।

‘सरकारको नेतृत्वका लागि सवै सगठन, संरचना, मतदाता, सुभेच्छुक गुमाउन तयार हुनु भनेको पार्टीलाई नै विघटनमा होम्नु हो,’’लेखनाथ भन्छन्,–‘यही अवस्था रहँदै गए माओवादी अब निर्णायक थर्ड पनि होइन, त्यो पोजिसनबाट पनि धेरै तल खुम्चिनुपर्ने अवस्थातिर जाँदैछ ।’

उपचुनाव हुन लागेका तीन क्षेत्रमा गत मंसिरको समानुपातिक मत मात्रै हेर्ने हो भने पनि माओवादीसँग १८९९८ मत छ । चितवन २ मा ८४०७, बारा २ मा ३२६५ र तनहुँ १ मा ७,३२६ मत माओवादीको छ ।

माओवादीलाई मत दिने यी मतदाताले अवको उपचुनावमा माओवादीको चुनाव चिन्है देख्न पाउने छैनन ।

चितवन २ मा समानुपातिक मतका आधारमा माओवादी चौथो शक्तिका रुपमा रहेको थियो । समानुपातिक मतलाई आधार मान्दा रास्वपा पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो शक्तिका रुपमा यो क्षेत्रमा थिए ।

चौथो शक्तिका रुपमा रहेको माओवादी यसपटक उपचुनावमा यहाँ उम्मेदवार नै छैन । कांग्रेसका जीतनारायण, रास्वपाका रवि लामिछाने र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

यहाँमात्र होइन, बारा २ मा माओवादीका तर्फवाट अहिले जनमतबाट उपचुनाव उठेका शिवचन्द्र प्रसाद कुसुवाह ५ महिना अगाडी माओवादीका उम्मेदवार थिए । उनी जम्मा जम्मी ३४५ मतले अहिलेका उपराष्टपति रामसहाय प्रसाद यादवसँग चुनावमा पराजित भएका थिए ।

यहा पनि माओवादीको उम्मेदवार छैन । पार्टीले जसपालाई सघाउने बुझेपछि शिवचन्द्र कुसुवाहले माओवादी नै छोडिदिए । जनमतमा पुगेर उनी चुनावमा लडे ।

यो क्षेत्रमा माओावादीका प्रत्यक्ष उम्मेदवार कुसुवाहले ५ महिना अगाडीको चुनावमा १३४६८ मत ल्याएका थिए । जितेका रामसहायले १३८२२ मत पाएका थिए । यो क्षेत्रबाट माओवादीले समानुपातिक मत ३२६५ मत पाएको थियो । माओवादी यो क्षेत्रमा सातौं स्थानमा देखिएको थियो । जसपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, जनमत चौथो, लोसपा पाँचौं, नागरिक उन्मुक्ति छैटौं र माओवादी समानुपातिक मतका आधारमा यो क्षेत्रमा सातौ स्थानमा छ ।

तनहुँ १ मा पनि माओवादीलाई उपचुनाव हर्ष न विस्मात छ । त्यहाँ पनि उसका उम्मेदवार छैनन । यहाँ माओवादी चौथो स्थानमा छ समानुपातिक मतका आधारमा । माओवादीले ७,३२६ मत पाएको थियो । यहाँ कांग्रेस, एमाले, रास्वपा र त्यसपछि मात्रै माओवादी छ । अन्य तीन वटै दलको त्यहाँ पनि उम्मेदवार छन् ।

उपचुनावबाट आउने निर्वाचन परिणामले सरकारको बागडोर सम्हालिरहेका दलहरुमा तात्विक अन्तर पार्ने देखिन्न । तर पनि माओवादीले सरकारको नेतृत्व टिकाउनकै लागि भएपनि आफुले उपचुनावमा टेष्ट नै हुन नगएर अरुलाई नै सघाउने निर्णय लिएको छ ।

उपचुनावमा माओवादीले सघाउन लागेका उम्मेदवारहरु उपेन्द्र यादव, गोविन्द भट्टराई र जितनारायण श्रेष्ठ।

यो निर्णयका कारण केन्द्रमा रहेका माओवादी नेताहरुलाई पनि हाइसन्चो नै छ । यसपटकको उपचुनावलाई अघिल्लो चुनावकै निरन्त्रताकै रुपमा लिनुपर्ने र त्यही आधारमा अहिले पार्टीले उपचुनाव हुन लागेका क्षेत्रमा उम्मेदवारी नदिएको तर्क पनि कतिपय माओवादी नेताहरु गर्छन् ।

‘सत्ता साक्षेदार दलहरु मिलेरै चुनावमा जाने निर्णय भयो । त्यसमाथी यो अघिल्लो चुनावमा भएको गठबन्धनकै निरन्तरता भएकोले यसलाई विशिष्ट अवस्थामा रुपमा बुझनुपर्ने हुन्छ,’ माओवादी केन्द्रका अर्का युवा नेता रामदीप आचार्यले मेरोन्यूजसँग भने,–‘विशिष्ट अवस्थाहरुमा यदाकदा यस्तो हुन्छ । यसलाई अहिले अन्यथा बुझनु हुदैन । सरल ढंगले अघिल्लो चुनावको गठबन्धनको निरन्तरताकै रुपमा बुझनुपर्ने हुन्छ ।’

पार्टी केन्द्रमा भएको यो खालको निर्णयले स्थानीय स्तरका माओवादी नेता- कार्यकर्ता भने खुसी देखिएका छैनन । आउँदा चुनावमा पार्टी झन् कमजोर र जनाधार गुम्दै जाने चिन्तामा स्थानीय माओवादीका नेता कार्यकर्ता देखिन्छन् ।

‘पार्टीलाई बनाउने, आफ्नै खुटटामा हिड्न खोज्ने, आफ्नै नेता कार्यकर्तामा भर गर्ने बानी नेताहरुमा हराउँदै गएको छ । यो चिन्ताको विषय छ । पार्टी शीर्ष नेताले गम्भिर भएर पार्टी बनाउने तिर सोचेनन् भने आउने चुनावसम्म माओवादीको अवस्था असाध्यै कमजोर हुनेछ । यसमा बेलैमा नेतृत्वले सोचोस्,’ बारा कार्यक्षेत्र रहेका माओवादीका एक नेताले भने ।

प्रतिक्रिया