मंगलबार, जेठ १, २०८१

उपनिर्वाचनमा सत्ता गठबन्धन रहन सकेन एकढिक्का

रास्वपा, नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चाले उठाए छुट्टै उम्मेदवार

मेरोन्यूज २०७९ चैत २१ गते ८:४२

काठमाडौँ । उपनिर्वाचनमा १० दलीय सत्ता गठबन्धन एकढिक्का रहन सकेन । १० बैशाखका लागि तोकिएको तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनमा गठबन्धनमा रहेका दलहरूले छुट्टाटुट्टै उम्मेदवारी दिएका छन् ।

Advertisement

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा माओवादीसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टीबीच गठबन्धन निर्माण भएको थियो ।

त्यही गठबन्धनका आधारमा उपनिर्वाचनमा पनि साँझा उम्मेदवार बनाउने भनिएको थियो ।

तर, निर्वाचनमा साँझा उम्मेदवार बनाउन गठबन्धनमा आबद्ध दलहरू सहमत भएका छैनन् ।

गठबन्धनले तनहुँ–१ र चितवन–२ मा नेपाली कांग्रेस तथा बारा–२ मा जसपा उम्मेदवाराई सघाउने भने पनि त्यसविरुद्ध दलहरू एकत्रित होइन, छिन्नभिन्न भएका छन् ।

गठबन्धन अर्थात कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी पार्टी र लोसपाका उम्मेदवारका रूपमा तनहुँ–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, चितवन–२ मा नेपाली कांग्रेसकै पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठ तथा बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् ।

गठबन्धनमा रहेको रास्वपाले तीन वटै क्षेत्रमा उम्मेदवार उठाएको छ । रास्वपाले तनहुँ–१ मा स्वर्णिम वाग्ले, चितवन–२ मा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले पनि तीन क्षेत्रमै पार्टीका उम्मेदवार उठाएको छ । उन्मुक्तिले बारामा कमरुल्लाह अन्सारी, चितवनमा राजेश अधिकारी र तनहुँमा भीमबहादुर सुनारलाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टीले बारामा शिवचन्द्र कुसवाहलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय जनमोर्चाले चितवनमा जनकराज शर्मालाई उम्मेदवार बनाएको छ ।

बारामा ३६, चितवनमा २४ र तनहुँमा ९ जनाले सोमबार मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया