बुधबार, जेठ २, २०८१

उपनिर्वाचन

बारा २ मा जितको खोजी गर्दै हरुवाहरू !

उपेन्द्र यादव, शिवचन्द्र कुसुवाह, रमेश खरेल र पुरुषोत्तम पौडेलबीच चौपक्षीय प्रतिस्पर्धा

मेरोन्यूज २०७९ चैत २० गते १८:३८


बारा । आजभन्दा १३४ दिनअगाडि जनता समाजवादी पार्टी (जसपा)बाट बारा क्षेत्र नम्बर २ मा हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति निर्वाचित भएपछि वैशाख १० मा त्यहाँ रिक्त रहेको प्रतिनिधिसभा सदस्यको लागि नयाँ निर्वाचन हुँदै छ ।

Advertisement

यो उपचुनाव बारामा यस अर्थमा पनि रोचक छ कि, यहाँ ४ मंसिरको चुनावमा पराजित भएका हरुवाहरूको चुनावी प्रतिस्पर्धा हुँदैछ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र प्रसाद कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल चुनावी मैदानमा छन् । यी तीन जना उम्मेदवार ४ मंसिरको चुनावमा पराजित भएका थिए ।

कुसुवाह त्यही क्षेत्रमा उपराष्ट्रपति रामसहायसँग मात्र ३५४ मतले पराजित भएका थिए । अन्य उम्मेदवारमा उपेन्द्र यादव सप्तरी २ मा जनमतका अध्यक्ष सिके राउतसँग भारी मतले पराजित भएका थिए भने रमेश खरेल काठमाडौँ १ बाट पराजित भए ।

एमाले उम्मेदवार पुरुषोत्तम पौडेल भने गत चुनावमा चुनाव नलडेका पात्र हुन् । उनी बाराका चिरपरिचित नेता नै हुन् । पूर्व खेलकुद मन्त्रीसमेत हुन् उनी । यस अर्थमा योपटक बारा २ को उपचुनाव रोचक मोडमा छ ।

यो चुनाव यस अर्थमा पनि रोचक छ कि, ४ मंसिरको चुनावमा रामसहायप्रसाद एमालेको साथमा जसपाबाट चुनाव लडेर जितेका थिए । कुसुवाह माओवादीमा थिए , त्यसबेला । उनलाई पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लगायतका दलको साथ थियो । तर, कुसवाहले अहिले दल बदलेका छन् । ३५४ मतले पराजित उनी अहिले जनमत पार्टीबाट चुनाव लड्न उम्मेदवार बनेका छन् ।

त्यस्तै काठमाडौं १ मा आफ्नै नेतृत्वको सुशासन पार्टीबाट चुनाव लडेका रमेश खरेल पनि क्षेत्र र पार्टी बदलेर चुनाव लड्न लागेका छन् । उपेन्द्र यादव सप्तरीमा पराजित भएपछि बारा २ मा चुनाव लड्न पुगेका हुन् । संसद छिर्ने उनको महत्वाकांक्षाकै कारण रामसहायलाई उपराष्ट्रपतिमा पठाएर उपेन्द्रले आफ्नो लागि स्थान खाली गराएको आरोप उनीमाथि छ ।

जे होस् तीन हरुवाहरू र एक त्यसै क्षेत्रमा परिचित अनुहारकै बीचमा बारा २ मा उपचुनाव हुन लागेको छ । यस अर्थमा पनि यस क्षेत्रको चुनाव रोचक हुने देखिएको छ ।

गत चुनावमा कुन दलको कस्तो परिणाम थियो हेर्नुहोस् ,निर्वाचन आयोगको तथ्यांक

अब के होला अंक गणित ?
गत ४ मंसिरदेखि १० वैशाखसम्मको अवधि मूल्याकंन गर्दा १५५ दिन हुन आउँछ । १५५ दिनमा त्यहाँको अंक गणितमा के कस्तो फेरबदल आउँला ? अहिले चासो छ । ४ मंसिरमा त्यहाँ स्वतन्त्र उम्मेदवार बनेकाहरूले ल्याएको मत अहिलेको चुनावमा निर्णायक हुने अवस्था देखिएको छ ।

गत चुनावमा जसपाकै रामकिशोर प्रसाद यादव बागी उठेका थिए । उनले ११ हजार ४३ मत पाएका थिए । तर, उनी अहिले जसपामा नै पुगेका छन् । यो क्षेत्रमा समानुपातिक मत हेर्दा जसपाको १३ हजार २४२, कांग्रेसको ११ हजार १७९, एमालेको नाै हजार १९३, जनमतको आठ हजार ८४६, लोसपाको चार हजार २३५, नागरिक उन्मुक्तिको तीन हजार ७९४ र माओवादीको तीन २६५ मत थियो ।

माओवादीमा रहेका कुसुवाह अहिले जनमतबाट उम्मेदवार छन् । सत्ता गठबन्धनका कांग्रेस, माओवादी र एकीकृत समाजवादीसम्मको साथ पाएका उपेन्द्रको मत जोड्ने हो भने उनलाई सहज देखिन्छ । तर, गत चुनावमा सप्तरीमा गठबन्धनका उम्मेदवार सहज मत हुँदा पनि पाउन सकेनन् । जनमत, रास्वपा, एमालेसम्मले यसपटक उनीसँग प्रतिस्पर्धा गर्न लागेकाले उनलाई कठिन हुने देखिन्छ ।

प्रतिक्रिया