शुक्रबार, चैत १६, २०८०

मिटरब्याज पीडितलाई न्याय दिन सरकार पछि हट्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

मेरोन्यूज २०७९ चैत १९ गते १५:२४

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिनबाट सरकार पछि नहटने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले पीडितहरूलाई न्याय दिने बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिलाउने काम टार्नका लागि उच्च स्तरीय आयोग बनाएको भनेर नसोच्न सांसदहरूलाई आग्रह गरे । यो समस्यालाई विषयान्तर गर्न अब नदिइने र पीडितलाई सरकारले न्याय दिनका लागि संकल्प लिएको उनको भनाइ थियो ।

‘मिटर ब्याजसम्बन्धि समस्या समाधान गर्ने भनेको अहिले पीडितहरूलाई त्यो पीडाबाट मुक्त गर्नु र उनीहरूलाई न्याय दिलाउनु हो, जुनसुकै कोणबाट यो समस्या समाधान हुनुपर्छ, पीडितहरूको पक्षमा भन्ने नै यसको सार हो,’ उनले भने, ‘गृहमन्त्रीका रुपमा म प्रष्ट भन्न चाहन्छु, यो मिटर ब्याज पीडितहरूलाई न्याय दिलाउने काममा सरकार प्रतिवद्ध छ, हरहालतमा गरिने छ, यो कवुल हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याज असुल गर्ने कुरालाई आर्थिक अपराध वा कसुरको रुपमा लिएर कानुन निर्माणका लागि सरकारले मन्त्रिपरिषदबाट कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको बताए ।

उनले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सत्य पत्ता लगाउन सरकारले सो सम्बन्धमा छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु परेको स्पष्ट पारे ।

Advertisement

प्रतिक्रिया