शुक्रबार, वैशाख १४, २०८१

आइपिएलमा लखनऊले दिल्लीलाई ५० रनले हरायो

मेरोन्यूज २०७९ चैत १९ गते ८:४७

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ ।

लखनऊको अटल बिहारी वाजपेयी क्रिकेट रंगशालामा लखनऊले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो।

दिल्लीका लागि कप्तान डेभिड वार्नरले अर्धशतक प्रहार गरे । उनले ४८ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए।

त्यस्तै रिली रस्सोले ३०, अक्छर पटेलले १६ र पृथ्वी शले १० रन बनाए । दिल्लीका अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दिल्लीलाई सस्तोमै समेट्न लखनऊका मार्क उडले सर्वाधिक पाँच विकेट लिए। उनले ओपनर पृथ्वी श, मिचेल सार्स, सर्फराज खान, अक्षर पटेल र चेतन सकारियालाई आउट गरे।

त्यस्तै आवेश खान र रवी बिस्नोइले दुई–दुई विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९३ रन बनाएको थियो।

लखनऊका लागि ओपनर कायल मेयर्सले ७३ रन बनाए। ५३ बल खेलेका कायलले ७ छक्का र २ चौका प्रहार गरे।

२१ बल खेलेका निकोलस पुरनले ३ छक्का र २ चौका प्रहार गर्दै ३६ रन बनाए। ७ बलमात्रै खेलेका आयुष बदोनीले १८ रन बनाए। जितसँगै दुई अंक जोड्दै लखनऊ लिगको शीर्ष स्थानमा छ।

प्रतिक्रिया