शुक्रबार, चैत १६, २०८०

देउवाको बक्सिस्‌मा अर्थमन्त्री महतलाई ९ पटक सार्वजनिक पद

पार्टीमा एकपटक मात्रै निर्वाचन जिते पनि ५ पटक खुट्किलो चढाए

मेरोन्यूज २०७९ चैत १९ गते ७:४७

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको निकट भएर सबैभन्दा धेरै लाभ लिने नेतामा पर्छन् डा. प्रकाशशरण महत । तिनै महतले शुक्रबार भएको मन्त्रिपरिषद् विस्तारमा पनि आफ्ना आधा दर्जन बढी प्रतिष्पर्धीलाई पछि पारेर अर्थमन्त्रीमा बाजी मारेका छन् ।

सभापति देउवाको विश्वास पात्र महतले पार्टीभित्र अद्धितीय अवसर पाएको भन्दै देउवाकै अन्य विश्वासपात्र नेताहरू नै रुष्ट छन् ।
सार्वजनिक निर्वाचनमा डा. महतले जितेको रेकर्ड छैन । तर देउवाले अहिलेसम्म उनलाई अहिलेको अर्थमन्त्रीसमेत ९ पटक सार्वजनिक पद बक्सिस् गरिसकेका छन् । पार्टीको आन्तरिक निर्वाचनमा एक पटक मात्रै जितेको इतिहास रहेका महतलाई देउवाले ५ पटक खुट्किलो चढाएका छन् ।

सार्वजनिक पदतर्फ अहिले ४ मंसिरमा भएको निर्वाचनपछि मात्रै दुई पदमा डा. महतले दुई पद देउवाबाट बक्सिस् पाएका छन् ।

निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नुवाकोट–१ र काठमाडौं ५ बाट उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका थिए । तर अघिल्लो पटक २०७४ मा काठमाडौँ ५ बाट एमालेका वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग सर्वनाक हार व्यहोरेकोले अहिले पनि त्यस्तै भइने हो कि भन्ने डरले समानुपातिक पद्धतितर्फको उम्मेदवार बन्न चाहे ।

त्यसपछि सभापति देउवाले उनलाई खस आर्यतर्फ एक नम्बरमा राखे । त्यतिबेलै प्रत्यक्ष चुनाव लड्न सक्षमहरूले नै सजिलो बाटो रोजेपछि निर्वाचन पद्धति माथि नै प्रश्न उठेको भनेर कांग्रेसवृत्तमा आलोचना भएको थियो । तर, त्यो आलोचनालाई नजरअन्दाज गर्दै देउवाले समानुपातिकतर्फबाट सांसद बनाएरे छाडे ।

Advertisement

त्यहीँ तेकसोबाट सांसद छिरेका डा. महत देउवालाई रिझाएर अहिले अर्थमन्त्री बनेका छन्, पार्टीभित्र र बाहिर आलोचनाका बीच । देउवाले उनलाई यसअघि पनि पटक पटक बक्सिस्मा पद दिँदै आएका छन् । उनलाई बक्सिस्मा पद मिल्न लागेको २०५६ सालबाट हो ।

२०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा डा. महतलाई योजना आयोगको सदस्य देउवाकै जोडबलमा बनाइएको थियो । त्यसबेला देखिनै महत पार्टीभित्रका समीकरणमा देउवाको निकटमा थिए ।

त्यसपछि देउवाले २०५८ सालमा प्रधानमन्त्री हुँदा महतलाई राजनीतिक सल्लाहकार बनाए । ०६१ मा देउवाले आफू प्रधानमन्त्री हुँदा परराष्ट्र मन्त्रालय आफैंसँग राखेर महतलाई परराष्ट्र राज्यमन्त्रीको बक्सिस् दिए ।

देउवाले नै २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा महतलाई समानुपातिक तर्फबाट सभासद् बनाए । त्यहीबेला २०६६ सालमा माधवकुमार नेपाल नेतृत्व गरेको सरकारमा ऊर्जामन्त्री बनाए ।

दोस्रो संविधान सभाको निर्वाचनमा पनि समानुपातिकतर्फबाट सांसद बने । त्यही बेला देउवाले पुनः बक्सिस् दिँदे २०७३ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा महतलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सुम्पिए ।

सार्वजनिक पदमा मात्र होइन, डा. महत प्रत्यक्ष निर्वाचनमा होमिन पार्टीको आन्तरिक जीवनमा पनि डराउँछन् । तर, देउवाले खुड्किला भने पार गराइरहन्छन् ।

अहिलेसम्म महतले पार्टी आन्तरिक जीवनमा प्रतिष्पर्धा गरेर जितेको एक पटक मात्रै हो । पार्टीको आन्तरिक चुनावमा एक पटक केन्द्रीय सदस्य मात्रै महतले जितेका छन् । तर पनि उनी अवसरबाट भने कहिले पनि वञ्चित हुन परेको छैन ।
२०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यो बाहेक पार्टीको आन्तरिक निर्वाचनमा उनले जितेको इतिहास छैन ।

पार्टी विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक बनाउँदा देउवाले डा. महतलाई केन्द्रीय सदस्य बनाएका थिए । २०६४ सालमा मूलधारको कांग्रेससँग प्रजातान्त्रिक समाहित हुँदा दुबैतर्फका केन्द्रीय समिति सदस्यहरू सोही पदमा रहने निर्णय गरिएपछि महतलाई पनि केन्द्रीय सदस्य हुने बाटो खुल्यो ।

१३ औं महाधिवेशनपछि डा. महतले देउवाबाट लाभ लिने झन बढ्दै गयो । अघिल्लो विधान अनुसार १ महामन्त्री र कोषाध्यक्षमा निर्वाचित हुने व्यवस्था थियो । विधान अनुसार सभापतिले उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्थाअनुरुप महतलाई देउवाले सहमहामन्त्री मनोनित गरे ।

सहमहामन्त्रीमा देउवा समूहबाट नै ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाणलगायत नेता आकांक्षी भए पनि अरुलाई पन्छाएर देउवाले सहमहामन्त्रीमा महतलाई बक्सिस् दिए ।

१४ औं महाधिवेशनमा समूहका आकांक्षीलाई पछि पार्दै महत महामन्त्रीमा देउवाको रोजाइमा परे, तर पराजित भए । तैपनि भरोसा दिएर देउवाले १७ पुस २०७८ मा महतलाई केन्द्रीय सदस्य मनोनित गरे । केन्द्रीय सदस्य बनाएको अर्को महिनामा देउवाले उनै महतलाई प्रवक्ता बनाए ।

देउवालाई साथ दिएर पटक–पटक लाभ पाउने महतबारे कांग्रेसका एक नेता भन्छन्, ‘पार्टीभित्र र बाहिरका निर्वाचनमा जित निकाल्न नसकेपनि उहाँ भाग्यमानी नेता सावित हुनु भएको छ ।’

प्रतिक्रिया