शनिबार, वैशाख ८, २०८१

हुम्ला अस्पतालमा औषधि अभाव, सापट मागेर उपचार

मेरोन्यूज २०७९ चैत १८ गते १४:५०

काठमाडौँ । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ ।

अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ, प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उनले भने ।

प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उनको भनाइ छ ।

प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताए । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् ।

सापट मागेर बिरामीको उपचार

केही दिनअघि विष सेवन गरेका सिमकोट गाउँपालिका १ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइयो । औषधि अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधि किन्नु पर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका ४ का प्रजित रोकायाले बताए ।

यस्तै, श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल आएका सर्केगाड गाउँपालिका २ का मनसिंह कार्की पनि निजी क्लिनिकबाट महँगोमा औषधि किन्नु परेको बताउँछन् ।

प्रतिक्रिया