शनिबार, वैशाख ८, २०८१

लाओसलाई हराउँदै नेपालले उचाल्यो थ्री नेसन्स कपको उपाधि

मेरोन्यूज २०७९ चैत १७ गते १९:३९

काठमाडौँ । खेल सकिन तीन मिनेट बाँकी हुँदा मनिष डाँगीले गरेको निर्णायक गोलसँगै थ्री नेसन्स कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हराएको हो । खेल १–१ गोलको स्थितिमा हुँदा ८७ औँ मिनेटमा डाँगीले गोल गरेका थिए ।

यसअघि १७ ‌औँ मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेको हो ।

नेपालले उपाधिसहित पाँच हजार अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेताले दुई हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

प्रतिक्रिया