शुक्रबार, चैत १६, २०८०

कांग्रेस दाइ-भाउजु, साला-भतिजको गिरोहमा परिणत भएको भन्दै स्वर्णिम वाग्लेले छाडे पार्टी

मेरोन्यूज २०७९ चैत १६ गते १६:५१

काठमाडौँ । नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका घोषणा गरेका छन् ।

वाग्लेले कांग्रेसका केही नेताहरूलाई सन्देश पठाएर आफूले पार्टी परित्याग गर्ने निर्णय गरेको बताएका हुन् । उनले ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग हुने निर्णय गरेका हुन् ।

उनले पछिल्ला वर्षहरूमा पार्टीभित्रका गतिविधि नियालेको बताउँदै प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको बताएका छन् । ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले भनेका छन् ।

उनले कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेर नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नु पर्ने बताएका छन् ।

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उल्लेख गरेका छन् ।

Advertisement

यसैबीच वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने तयारी गरेका छन् । पार्टी प्रवक्ता मुकुल ढकालले वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताएका थिए ।

वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणा पत्र तयारी समितिमा थिए । उनी त्यसबेला कांग्रेसबाट चितवन वा काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहना राख्दै आएका थिए ।

प्रतिक्रिया