बुधबार, वैशाख १२, २०८१

विदेशमा रोजगार गर्ने नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा

मेरोन्यूज २०७९ चैत १५ गते ७:५४

काठमाडौं । वैदेशमा रोजगारी गर्न गएका नेपाली श्रमिकका लागि सरकारले आजदेखि निःशुल्क स्वास्थ्य परामर्श सेवा दिन सुरु गर्ने भएको छ ।

आज बिहान १० बजेदेखि सुरु हुने सेवामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराइने वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डले जनाएको छ । सेवा लिन नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्ने वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव राजन पौडेलले जानकारी दिए ।

कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिरामी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउनेछन् । विशेषतः आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकाले सो दिनमा नै विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।

सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने छ । सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि वैदेशिक रोजगार बोर्डले आजदेखि परामर्श सेवा दिन लागेको हो ।

प्रतिक्रिया