शुक्रबार, वैशाख १४, २०८१

प्रहरीमा एउटै व्याचका अधिकृतहरू आइजीपी, एआइजीपी र डिआइजीपी

मेरोन्यूज २०७९ चैत १४ गते १३:३२

काठमाडौं । नेकपा माओवादीले गृह मन्त्रालय राख्ने कि नेकपा एसले लिने भन्ने दोधार चलिरहेको बेला हतारमा चार एआइजीको बढुवा निकालिएको छ ।

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सोमबार नेपाल प्रहरीका रिक्त ४ अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवा सिफारिस गरेसँगै उनीहरुको बढुवा निश्चित भएको हो ।

नेपाल प्रहरीमा अहिले एउटै व्याचमा तीन तह देखिएको छ । आइजीपी, एआइजी र डिआइजी एउटै व्याचबाट भएका छन् । उनीहरुमध्ये निकै काबिल अफिसर एआइजी हुनबाट छुटेका छन् ।

नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले पदबहाली गरेको भोलिपल्टै एआईजी बढुवा सिफारिस गरिएको छ । सरकारले पूर्णता नपाइसकेको र गृहमन्त्री समेत नभएको अवस्थामा हतार हतार एआइजी बढुवा सिफारिस गरिएको छ ।

कुँवरलाई आइजीपी नियुक्त गरिएकै दुई दिनपछि हतारमा एआइजी बढुवा सिफारिसमा गरिएपछि प्रहरीमा पनि हलचल पैदा भएको छ ।

प्रधानमन्त्रीको नीजि सचिवलायबाटै आएको सूचीलाई गृह मन्त्रालयले एआइजीमा सिफारिस गरेको थियो । डीआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङ बढुवा सिफारिसमा परेका छन् ।

उनीहरुसँगै भर्ना भएका बसन्तबहादुर कुँवर आइजीपी भए । टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजी बढुवा भए ।

तर सँगै भर्ना भएका उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा भने डीआईजीमै घर जाने अवस्था आएको छ । ३० वर्षे सेवा अवधि नहटे वा एआइजीको दरबन्दी नथपिए उनीहरु डिआइजीबाटै घर जानेछन् ।

सरकारलाई समर्थन गरेको र सहभागी समेत हुन लागेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश घर भएका डीआईजीहरु उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह पनि एआइजी बढुवामा छुटेका छन् । उनीहरु तुलनात्मक रुपमा राम्रा र काविल अधिकृत मानिन्छन ।

रामदत्त जोशी त डडेलधुराकै हुन् । यिनीहरु प्रहरीमा क्षमतावानमै पर्दछन् । कार्यक्षमतामा निकै अब्बल मानिएका अधिकृतका रुपमा छवि बनाएका उनीहरु मात्र होइन, डीआईजी भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ पनि एआइजीको बढुवामा सिफारिस भएनन् ।

उनीहरुभन्दा पछि बढुवा भएका सुदीप गिरी र टेकप्रसाद तामाङ बढुवा हुँदा पनि उनीहरुलाई छुटाइयो । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको आफन्त रहेकी किरण राणा पनि बढुवा सिफारिसमा पर्न सकिनन् ।

‘केही गरी अरु दलको हातमा गृह मन्त्रालय गएमा आफूले भनेका डिआइजीहरुलाई बढुवा गर्न नसकिने भएकाले हतारमा एआइजी सिफारिस गरिएको हो । केही दिनमा एसएसपीहरुलाई डिआइजीमा सिफारिस गर्न लगाउने प्रधानमन्त्रीको स्वकीय सचिवालयको तयारी छ’, स्रोतले भन्यो ।

नेकपा माओवादीले नै गृह राख्ने योजनाका साथ केही दिन आफू अनुकुलका प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरिसकेको छ । अयोग्य लडाकुको विवरण संकलन गर्न सहयोग पुग्ने गरी सिडियोहरुको सरुवा गरिएको थियो ।

प्रतिक्रिया