शुक्रबार, वैशाख १४, २०८१

वामपन्थी आन्दोलनमा ५० वर्ष बिताएपछि बल्ल मन्त्री !

१४ वर्ष जेल बसेका केपी ओली प्रधानमन्त्री बनिसके, १३ वर्ष जेल बसेका वेदुराम भुसाल भर्खर पहिलो पटक मन्त्री बने

शितल शर्मा २०७९ चैत १७ गते १६:१८

काठमाडौं । वेदुराम भुसाल बामपन्थी आन्दोलनमा लाग्नेहरुका लागि चिनाइरहनु पर्ने नाम होइन । उनी सरल छन्, भेट्न चाहनेहरुका लागि सहज छन् । बौद्धिक नेतामा पर्छन् । ‘जबजको ऐतिहासिक विकासक्रम’ शीर्षकमा विद्यावारिधि (पीएचडी) गरेका उनी अहिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष छन् ।

केही दिनअगाडि एकीकृत समाजवादीमा उनको पदीय जिम्मेवारी पार्टी महासचिवको थियो । तर, जब एकीकृत समाजवादीले घनश्याम भुसाललाई पार्टीमा भित्र्यायो । त्यसपछि वेदुरामको जिम्मेवारी हेरफेर भयो । घनश्याम महासचिव बने, उनी उपाध्यक्षमा उक्लिए ।

उनी राष्ट्रिय सभा सदस्य छन् । राजकीय जिम्मेवारीमा उनको त्यो दोस्रो जिम्मेवारी हो । त्यसअगाडि पनि उनी २०५८ सालदेखि जनआन्दोलनभर राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा थिए ।

अध्ययनशील र बौद्धिक नेताको छवि बनाएका उनी मन्त्री र प्रतिनिधिसभा सदस्य भने बन्न पाएका छैनन् । तर, यसपटक वामपन्थी आन्दोलनमा लागेको करिब ५० वर्षपछि उनलाई मन्त्री बन्ने अवसर जुर्दैछ । अर्थात, उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बन्दै छन् । उनलाई मन्त्री बनाउने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्डसँग सल्लाह गरिसेकका छन् ।

‘कांग्रेसबाट करिब चार जना र एकीकृत समाजवादीबाट वेदुराम कमरेड मन्त्री बन्ने गरी प्रधानमन्त्रीलाई पाँच जनाको नाम दुवै पार्टीका सभापति/अध्यक्षबाट प्राप्त भइसकेको छ । मन्त्रीपरिषद् विस्तारमा पक्का भएका एकीकृत समाजवादीका बेदुराम कमरेड हुनुहुन्छ,’ केही दिनअगाडि प्रधानमन्त्री प्रचण्डका नीजि सचिवालयका एक सदस्यले मेरोन्यूजलाई भन्यो ।

हुन पनि वेदुराम अवसरको राजनीतिमा ठगिदै आएका छन् । एमालेमा हुँदा पनि उनी निरन्तर पार्टीभित्र उपेक्षित मात्र भइरहे । केपी ओली १४ वर्ष जेल बस्दा वेदुराम पनि १३ वर्ष जेल बसेका छन् । बौद्धिकता र राजनीतिक बहस विर्मशमा केपी ओलीजस्तै तर्कशील नेतामा पर्छन बेदुराम ।

कम्युनिष्ट आन्दोलनमा योगदानका आधारमा उनको योगदान कम आक्न मिल्ने खालको छैन । तर अवसर पाउँदा भने पार्टीभित्रैबाट उनी ठगिदै आएका नेतामा पर्छन् । त्यसको ज्वालन्त उदाहरण हो- २०७४ मा राष्ट्रिय सभा सदस्यका लागि तत्कालिन प्रदेश ३ (बागमती प्रदेश)बाट उम्मेदवारी भुसालले पार्टीबाट दिएका थिए । तर तत्कालीन चुनावी तालमेलमा उक्त क्षेत्रको सिट माओवादी केन्द्रको भागमा पर्यो । भुसालले दर्ता गराइसकेको आफ्नो उम्मेदवारी फिर्ता लिनु परेको थियो ।

त्यसको ठिक दुई वर्षपछि भने तत्कालीन नेकपा विभाजनको संघारमै पुगिरहेका बेला उनले राष्ट्रिय सभामा प्रवेश गर्ने मौका पाए । उनी त्यही बेलादेखि अहिलेसम्म राष्ट्रयसभा सदस्य छन् । उनलाई नेकपा एकीकृत समाजवादीले यसपटक न्याय गर्दै मन्त्री बनाएको हो ।

सत्ता गठबन्धनमा भएको समझदारी र भाकाअनुसार एकीकृत समाजवादीका उपाध्यक्ष रहेका बेदुराम प्रचण्ड नेतृत्वको क्याबिनेटमा पहिलो पटक सहभागी भएको छ । एकीकृत समाजवादीलाई प्रधानमन्त्रीले दुई मन्त्रालय दिएको छ । अर्काेमा भने प्रकाश ज्वालालाई एकीकृत समाजवादीले मन्त्रीका रुपमा पठाएको हो ।

‘मन्त्रालय २ की ३ भन्ने टुंग्गो भोलिको १० दलीय गठबन्धनको बैठकमा लाग्ला, त्यसमा एक जना बेदुराम कमरेड मन्त्री हुनुहन्छ, अर्काेमा को भन्नेमा पार्टीले लगत्तै सचिवालय बैठक बसेर निर्णय लिन्छ,’ केही दिनअघि एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् ।

जन्म, शिक्षा र राजनीतिक यात्रा

वेदुराम भुसाल वि.सं. २०११ असार १५ गते अर्घाखाँचीको धनचौरमा जन्मिएका हुन् । उनको प्रारम्भिक शिक्षा गाउँमै भएको थियो । जन्मेको चार वर्षपछि मात्रै जन्मेकै गाउँ धनचौरमा स्कुल खुलेको थियो । उनले त्यहीँ स्कुलबाट कक्षा ५ सम्म अध्ययन गरे ।

त्यसपछि गाउँमा माथिल्लो कक्षा पढ्नलाई स्कूल नभएपछि उनी आफै र अग्रजहरुसँग लागेर विद्यालय खोल्ने अभियानमा लागे । त्यसकै प्रतिफल धनचौरमा वि‍.सं. २०२८ सालमा जनजागृति मावि खुल्यो ।

सोही विद्यालयमा कक्षा ६ बाट पढाइ शुरु गरेका उनी २०२७ सालदेखि नै राजनीतिक आन्दोलनमा लागिसकेका थिए । त्यो पनि वामपन्थी कम्युनिष्ट आन्दोलनमा । राजनीति र पढाईसँगै अघि बढाएका वेदुरामले अर्घाखाँचीमा चर्चित बर्रे आन्दोलनमा सहभागिता जनाएका थिए ।

राज्य सत्ताविरोधी आन्दोलनमा लागेको भन्दै तत्कालिन शासकले १९ वर्षको उमेरमा २०३० सालमा उनलाई पक्राउ गरे । त्यसपछि उनले आफ्नो जीवनको ३३ वर्षको उमेरसम्म गरी १३ वर्ष जेल जीवन बिताए ।

जेलबाटै उनले एसएलसी, आइए, बीएसम्म उतीर्ण गरे । उनी २०४३ सालमा जेलमुक्त भएका थिए । जेलबाट छुट्दा एमए दोस्रो वर्षको अध्ययन गरिरहेका उनले त्यसपछि राजनीति र पढाईलाई सँगसँगै अगाडि बढाए ।

२०२७ सालदेखि नै राजनीतिमा होमिएका वेदुराम २०२९ सालमा पार्टी सेल कमिटीको सदस्य बनिसकेका थिए । २०४३ सालमा काठमाडौं जेलबाट छुटेपछि उनी भूमिगत राजनीतिमा होमिदै चितवनलाई कर्मथलो बनाएर बसे । त्यो बेला उनले गुल्मी–अर्घाखाँची संयुक्त कमिटी, पाल्पा–रुपन्देही कमिटीलगायतमा रहेर पार्टीको काम गरेका थिए ।

२०४७ मा तत्कालीन नेकपा मालेको कपिलवस्तु जिल्ला कमिटी सचिवको जिम्मेवारीमा रहेर काम गरेका बेदुरामले २०५७ सालमा पार्टी एकीकरण भइसकेपछि नेकपा एमाले केन्द्रीय विभागको सचिवको जिम्मेवारी वहन गरे ।

तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनबाट पोलिटव्यूरो सदस्य बनेका उनी माओवादी र एमाले मिलेर बनेको नेकपाको स्थायी कमिटि सदस्य भएर काम गरेका थिए ।

पछि पार्टी विभाजन भएपछि उनी माधव नेपालसाग लागे । नेकपा एकीकृत समाजवादीको महासचिव हुँदैं अहिले केन्द्रीय उपाध्यक्ष छन् ।

कांग्रेस नेता सिके प्रसाईंले २०४७ सालमा कम्युनिष्टहरुले ६० वर्ष कटेका बुढाबुढीलाई गोली हानेर मार्छन् भन्ने आरोप लगाएर पुस्तक लेखेपछि त्यसको जवाफमा भुसालल ‘सिके प्रसाईलाई जवाफ’नामक सानो पुस्तक प्रकाशन गरेका थिए ।

त्यसपछि २०६५ मा दर्शनशास्त्रको परिचय नामक अर्को पुस्तक पनि प्उनले प्रकाशनमा ल्याए । उनको जनताको बहुदलीय जनवादको दार्शनिक मान्यता, माक्र्सवादी दर्शन, नेपालमा प्रचलित चिन्तनहरु लगायतका थुप्रै पुस्तकहरु प्रकाशन भएको छ ।

उनी सादगी र सरल यति सम्म छन् की उनी हत्तपत्ति रेष्टुराँ सम्म पनि जान्नन् । कहिलेकाहीँ साथीभाइले आज रेस्टुरेन्ट जाऔँ । चिया, खाना खाऔँ भनेको समय र कार्यक्रमको दौरानबाहेक ब्यक्तिगत रुपमा उनी रेस्टुरेन्ट छिरेका छैनन ।

आँटो, मकैको च्याँख्लाको भात र हरियो सागपात खान मनपराउने उनको सपना समाज बदलौँ भन्ने रहेको उनी बताउँछन् ।

‘त्योबाहेक अर्काे केही छैन । नेपाली समाजमा जुनखालको शोषण, दमन, उत्पीडन रहेको छ । त्यो हट्नु पर्छ भन्ने हो,‘ भुसाल आफनो सपना सुनाउँदै भन्छन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया