बुधबार, वैशाख १२, २०८१

मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई हप्ता दिनभित्र हाजिर गराउन मन्त्रालयको निर्देशन

मेरोन्यूज २०७९ चैत १२ गते १८:३९

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई एक हप्ताभित्र हाजिर गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि हप्ता दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले शुक्रबार मन्त्री स्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ ।

मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई गरिएको परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका÷गाउँपालिकाले प्रचलित कानून हाजिर गराई कामकाजमा लगाउनु पर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पत्रको मितिले ७ (सात) दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनु हुनका साथै त्यहाँ कार्यालयबाट अन्यत्र खटाइएका कर्मचारीलाई समेत सोही अवधिभित्र खटाइएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०७९/१२/०९ को निर्णयानुसार अनुरोध छ ।’

मन्त्रालयले मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका÷गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ ।

प्रतिक्रिया