शुक्रबार, चैत १६, २०८०

प्रकाशकीय : मेरोन्यूज तेस्रो वर्षमा प्रवेश

मेरोन्यूज २०७९ चैत ११ गते ६:४६

मेरोन्यूज डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल पत्रकारिताको हाम्रो यो अभियानमा जोडिनु भएका हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक, लेखकलगायत सबैसँग यो खुसी साट्न पाउँदा हामी उत्साहित भएका छौँ ।

दुई वर्षअघि आजकै दिन अर्थात् ११ चैत २०७७ मा तपाईंहरूमाझ आउँदा हामीले हाम्रो उपस्थिति स्थापित गर्ने पहिलो जिम्मेवारी हाम्रै हुनेछ भनेका थियौँ । यो दुई वर्षमा हामीले तपाईंको अटुट माया र सद्भाव पायौँ । तपाईंहरूको न्यानो माया, उत्प्रेरणा, विश्वास र खबरदारी हाम्रा अमूल्य आर्जन हुन पुगेको छ । आगामी दिनमा पनि हामी तपाईंहरूको माया र खबरदारीको अपेक्षा गर्दछौँ ।

संविधान निर्माणपछिको दोस्रो आम निर्वाचनको चुनावी वर्ष हामीले सकेका छौँ । ताजा जनादेशपछि स्थिरता र समृद्धिको दिशामा देश जाने अपेक्षा गरेका थियौँ । तर, जनादेश अस्थिर हुने आएको छ । राजनीतिक दलहरूलाई सहकार्य गरेर राज्य सञ्चालन गर्न र त्यसअनुरुप अगाडि बढ्न जनताले म्याण्डेट दिएका छन् । तर यसबीच, राजनीतिक दलहरूमा देखिएको अराजनीतिक प्रतिस्पर्धा, त्यसले समाजमा परेको घातक टकराव र अनपेक्षित भूराजनीतिक भूमरी सतहमा देखा परेको छ ।

नेपाली जनताको दशकौँदेखिको संघर्ष, त्याग तथा बलिदानबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पायौँ । संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता पायौँ । फेरि पनि यो युगीन परिवर्तनमा प्रश्नहरू विभिन्न जोड र कोणबाट उठ्न थालेका छन् ।

परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा र संस्थागत विकासको पक्षमा अहोरात्र पहरेदारी सञ्चार संस्थाले खेल्नु पर्छ भन्ने हाम्रो प्रष्ट मत छ । त्यसका लागि हामी प्रतिबद्ध छौँ । राजनीतिक स्थायित्वसँगै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा हाम्रो पनि कार्यभार हो । हामी व्यावसायिक पत्रकारिताको माध्यमबाट यो राष्ट्रिय आकांक्षामा रचनात्मक योगदान पुर्‍याउन कुनै कसर बाँकी राख्ने छैनौँ ।

Advertisement

सूचना प्रविधिको तीव्रतर विकाससँगै मिडिया उद्यमीसँगै पत्रकारिताको चित्र र चरित्र बदलिएको छ । दुनियाँ डिजिटल भइसकेको छ । अबको दुनियाँमा बलवान् हामी पत्रकार वा हाम्रा सञ्चार माध्यम होइनन्, प्रविधि र पाठक हुन् भन्ने तथ्य स्थापित भएको छ ।

तर, प्रविधिको दुरुपयोग हुँदा विश्व जगतमा भ्रामक सूचना, मिथ्या समाचार र नियोजित प्रचारबाजीको जगमा लोक रिझ्याउने राजनीतिक परिपाटी चलेको छ । त्यही राजनीतिक परिपाटीकै कारण सञ्चार क्षेत्रमाथि प्रश्न उठेको छ । आलोचनाको गति तीव्र बनाइएको छ ।

नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छाना गर्ने काम हुन थालेको छ ।

हामीलाई यो भन्न संकोच छैन कि- सभामुखजस्तो गरिमामय पदबाट सञ्चार क्षेत्रमाथि अमर्यादित प्रश्न तेर्साइएको छ । पत्रकारिताालाई नै भर्‍याङ बनाएर मुलुकको उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका व्यक्तिले सञ्चार क्षेत्रलाई तारो बनाएका छन् । यसले समग्र सञ्चार क्षेत्रमाथि चुनौती थपेको हामीले ठानेका छौँ । यो चुनौतीका बीच विश्वसनीय समाचार र सर्वपक्षीय विचारको सम्प्रेषण गर्नु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । यो मूल मर्म हामीले भुलेका छैनौँ । यसमा हामी कहिले विचलित र डगमगाउने छैनौँ ।

दुई वर्षअगाडि हामी हिँड्न खोजिरहँदा मुलुकको अर्थतन्त्र कोरोना कहरबाट चौपट अवस्थामा थियो । क्रमशः त्यसमा सुधार हुने अपेक्षा थियो । तर, अहिले पनि कोरोना कहरबाट सिर्जित समस्या, मुलुकमा देखा परेको आथिर्क मन्दी, रुस-युक्रेन द्वन्द्वले अर्थतन्त्रमा पारेको प्रभावलगायतका बहुआयामिक संकट यथावत छन् । यी समस्याले सञ्चार क्षेत्रको भविष्यमा प्रश्न उठेको छ । सञ्चार संस्था र कार्यरत सञ्चारकर्मीको अवस्था के होला ? भन्ने प्रश्न यथावत छ । तर यी संकटका बीच हामीले हाम्रो उत्साह मर्न दिएका छैनौँ ।

हरेक विषयको परीक्षा चुनौतीबीच हुन्छ । अनेकौँ संकटका बीचमा पाइला चाल्न खोज्नु आफैमा चुनौतीपूर्ण थियो । र, त्यो चुनौतीको सामना गर्दै आजका दिनसम्म तपाईंहरूको साथमा उभिन सक्नु हामीले ठूलै उपलब्धी ठानेका छौँ ।

यो अवधिसम्म आइपुग्न हामीसँग जोडिएका सबै सहकर्मी साथीहरूको अथक मेहनत र परिश्रम आफ्नै ठाउँमा छ । साथमा तपाईं पाठकहरू, विज्ञापनदाताहरू, लेखकहरूको हौसला र साथ पनि सँगै जोडिन पुगेको छ ।

सूचना हरेक ठाउँमा छ । त्यसलाई सही र वस्तुनिष्ठ ढंगले हेर्ने, समाजलाई ठोस् धारणा पस्किने संस्थाहरू अपेक्षाअनुसार बन्न बाँकी छ । मेरोन्यूजलाई अझै एउटा पूर्ण र सम्पूर्ण रुपमा तपाईंहरूको सारथि बनाउने हाम्रो प्रयास जारी छ ।

समाचार सामग्रीहरूको विविधतासँगै थप व्यावसायिक र स्तरीय बनाउँदै लैजाने हाम्रो लक्ष्य कायमै छ । हामी आवाजविहीन र सिंहदरबारबीचको पुल बनेर बहसका चौतारी बन्ने लक्ष्यमा छौँ । त्यसका निम्ति विगतमा जस्तै स्वतन्त्र, जिम्मेवार र जवाफदेही पत्रकारिता हाम्रो मूल मन्त्र हुनेछ ।

अन्त्यमा,

छोटो अवधिमा हामीप्रति अगाध माया र सद्भाव देखाउँदै साथ दिनु हुने, विश्वास गर्नु हुने र भरोसा दिनुहुने पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक, लेखकलगायत सबैमा तेस्रो वर्ष प्रवेशको अवसरमा खुशी र शुभकामना बाँड्न चाहान्छौँ ।

धन्यवाद ।

प्रतिक्रिया