शुक्रबार, वैशाख ७, २०८१

अधिकांश आँखा रोगी धामी झाँक्रीकै विश्वासमा

मेरोन्यूज २०७९ चैत ९ गते १९:०४

सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ ।

चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षणअनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्री कहाँ जाने गरेको पाइएको हो ।

अप्थाल्मोलोजी विभाग महारागञ्ज मेडिकल क्याम्पस चिकित्साशास्त्रमा अध्ययनरत ब्याचलर अफ अप्टोमेट्री एक्काइसौँ ब्याचका विद्यार्थीहरूले सदरमुकाम चौतारामा तीन सय घरधुरीमा शारीरिक, मानसिक र आँखा स्वास्थ्यको अवस्थाबारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरूले अधिकांशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक गरेका छन् ।

सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमअन्तर्गत द्वितीय सामुदायिक प्रस्तुतीकरण कार्यक्रमका क्रममा उनीहरूले उच्च रक्तचापबाट मुटुमा समस्या उत्पन्न गर्ने सवालमा पनि चौतारावासी अनविज्ञ रहेको खुलासा गरे ।

खासगरी उच्च रक्तचापबाट जोडिएर आउने अन्य रोगका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारले कार्यक्रम बनाउनु पर्नेमा कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सरकारका प्रमुख, प्रतिनिधि र सरोकारवालाको ध्यानाकर्षित गरे ।

कार्यक्रममा चेवन आचार्यले प्रस्तुत गरेको प्रतिवेदनअनुसार अधिकांश वडावासीमा दृष्टिदोष, सुक्खा आँखा, छड्के आँखा र अन्धोपनको समस्या रहेको छ । वडावासीका घरघरमा पुगी सवेक्षणसँगै उपचार र उचित परामर्श सेवा प्रदान गरेको विद्यार्थी चिरञ्जीवी शाहले जानकारी दिए ।

चिकित्साशास्त्रमा अध्ययनरत १० जनाको टोलीले श्रीकृष्ण रत्नगंगा माविमा आँखा स्क्रिनिङ सेवा र वडा नं ५ को कार्यालयमा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो ।

प्रस्तुतीकरण कार्यक्रममा उपप्रमुख सीता थापाले आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा व्यक्त गरे । वडाध्यक्ष शिव श्रेष्ठले सर्वेक्षण मात्र नभई स्थानीय जनताको स्वास्थ्य परीक्षण र उपचार गरेकामा विद्यार्थीलाई धन्यवाद दिए ।

चौतारा साँगाचोकगढी नगरपालिका ५ र विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँको समन्वयमा एक महिनाअघिदेखि समुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया