बिहीबार, वैशाख १३, २०८१

भारतमा जबरजस्ती यौन धन्धामा लगाइएका १० नेपाली महिलाको उद्धार

मेरोन्यूज २०७९ चैत ९ गते १६:२१

काठमाडौँ । मानव तस्करीको शिकार बन्दै जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ ।

बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो ।

उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो ।

उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाडौँ, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पु¥याइएको र त्यहाँ जबरजस्ती यौन धन्धामा लगाएको बताइन् ।

अनुसन्धानमा संलग्न एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट चार जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानिरीक्षकको सचिवालय हुँदै दिल्ली दुतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि समन्वय गर्दा हराएकामध्ये एक जना युवतीलाई फेला पारेको र ती युवतीले हराएका बाँकी तीन जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रुपमा गरिएको कारबाहीमा हराएका दुईसहित थप सात जना नेपाली फेला परेको बताए ।

कीन इण्डियाका प्रमुख नविन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनिहरूलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नु परेको र ४८ घण्टाको निरन्तर खोजीपछि महिलाहरूको उद्धार गर्न सकिएको बताए ।

दिल्लीमा टिकाराम भण्डारी र उनकी श्रीमती टीका ओलीले ती महिलाहरूलाई दिल्लीको फ्ल्याटमा राखेर यौन धन्धा गराउँदै आएको खुलेको छ ।

प्रतिक्रिया