मंगलबार, वैशाख ११, २०८१

बागमती प्रदेशका कांग्रेस सांसद काठमाडौंमा, मुख्यमन्त्री अप्ठ्यारोमा !

कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री प्रदेशसभा बैठक स्थगित गराउने तयारीमा

मेरोन्यूज २०७९ चैत ८ गते १४:४४

काठमाडौं । मुख्यमन्त्री तथा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सभामा आज विश्वासको मत लिने तयारी गरेका थिए । सरकारमा सहभागी भएको राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकार अहिले अल्पमतमा छ ।

उनले चैत १३ गतेभित्र संसदमा विश्वासको मत लिनुपर्ने बाध्यता छ । त्यही आधारमा उनले आज दिउँसो ३ बजे बस्ने संसद बैठकमा विश्वासको मत लिने गरी प्रदेश सभा सचिवालयलाई कार्यसूची तय गर्न पत्र पठाएका थिए ।

तर प्रदेश सभामा उनले आफनो सरकारको टिकाउका लागि साथ खोजेको कांग्रेसले अहिलेसम्म विश्वासको मत दिने नदिने विषयमा अनिर्णित बसेपछि मुख्यमन्त्री जम्मकट्टेल अप्ठ्यारोमा परेका छन् । दिउँसो ३ बजे जम्मकट्टेलले विश्वासको मत लिन संसदमा कार्यसूची छ ।

तर कांग्रेसका सांसदहरु भने यो समाचार तयार पार्दासम्म काठमाडौंमा नै छन् । कांग्रेसका बागमती प्रदेशका सबै सांसदहरु काठमाडौंमा आएर यही नै प्रदेश सभा दलको बैठक बसिरहेका छन् ।

कांग्रेसका सांसदहरुले सरकारमा आफनो नेतृत्व खोजिरहेका छन् । तर माओवादीका मुख्यमन्त्री जम्मकट्टेलले आलोपालो सरकारको नेतृत्व गर्ने गरी अहिले कांग्रेसले आफुलाई सघाउने र त्यसमा केन्द्रले पनि साथ दिने विश्वास पालिरहेका छन् । कांग्रेसका सांसद काठमाडौंमै रहेपछि उनले आजको बैठक स्थगित गर्न प्रदेश सभाका सभामुखलाई आग्रह गर्ने भित्री तयारी गररहेको स्रोत बताउँछ ।

कांग्रेसले भने यस बारेमा निर्णय लिन दुई दिनको समय माग गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ । दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं ।’

प्रतिक्रिया