शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रियसभामा सरकारलाई प्रश्न : प्रहरीले बोल्ने युवाको मुख थुन्न मिल्छ ?

मेरोन्यूज २०७९ चैत ८ गते १४:१५

काठमाडौँ । राष्ट्रियसभा सांसद डा. विमला राई पौड्यालले मंगलबार केही युवामाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

जसमा प्रहरीले युवाहरूको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरूलाई पक्राउ गरेको थियो । सोही विषयमा आज सांसद पौड्यालले यसबारे सरकारको जवाफ माग गरेकी हुन् ।

उनले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीहरूले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोजेकी हुन् ।

‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीहरूले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको छ, लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौँ,’ उनले भनिन्, ‘यी युवाहरूले के बोल्न खोजेका थिए, र प्रहरीले त्यस्तो ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ, प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ की मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु ।’

मंगलबार एक सार्वजनिक कार्यक्रममा युवाहरूले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया