सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य छैन : डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् ।
सरकारले टेलिफोन, मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन मस्यौदा नै बनाइसकेपछि नेता कोइरालाले सामाजिक सन्जालमार्फत लोकतन्त्रमा यो वा त्यो बाहनामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा नेता कोइरालाले विगतमा विरोधका कारण रोकिएको विधेयक अहिलेको सरकारले फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको उल्लेख गरेका छन् ।
‘लोकतन्त्रमा यो वा त्यो बहानामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ कोइरालाले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगत्को समेत ध्यान जाओस् ।’
विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ०७६ को साउनमा पनि नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयकको मस्यौदा तयार गरिएको थियो ।
तत्कालीन प्रतिपक्षी कांग्रेसलगायतका राजनीतिक दल र नागरिक समाजबाट चर्को विरोध भएपछि विधेयक रोकिएको थियो ।
लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन।विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।राष्ट्रीय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल,मानवअधिकारकर्मी,नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस।
— Dr Shekhar Koirala (@Shekharnc) March 22, 2023
प्रतिक्रिया