शुक्रबार, वैशाख ७, २०८१

वैदेशिक रोजगारीमा जाने श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिए

मेरोन्यूज २०७९ चैत ८ गते १२:०७

काठमाडौँ । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर कार्यक्रम सुरु गरेका हुन् ।

योसँगै विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।

सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–०७९ लाई कार्यान्वयनमा ल्याएको हो । कोषका अध्यक्ष श्रम सचिव एकनारायण आर्यालले अब विदेशमा रहेका कुनै पनि नेपाली श्रमिक सामाजिक सुरक्षाको दायराबाट बाहिर बस्न नपर्ने बताए ।

योजनामा घरमा काम गर्ने घरेलुदेखि प्रतिष्ठानमा कार्यरतले आफूलाई अधिकार सम्पन्न श्रमिकका रूपमा अनुभूति गर्न पाउने व्यवस्था मिलाइएको आर्यालले बताए ।

वैदेशिक रोजगारीमा कार्यरत २२ लाख श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

कोषमा आबद्ध हुनका लागि कामदारले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्न पाइन्छ । यसरी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाइनेछ ।

वैदेशिक रोजगार समय अवधि सकिएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ ।

प्रतिक्रिया