बुधबार, वैशाख १२, २०८१

शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउनु पर्छ : गगन थापा

मेरोन्यूज २०७९ चैत ७ गते १७:३५

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पुर्‍याउनु पर्ने बताएका छन् । उनले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनु पर्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे कसैलाई पनि मान्य नहुने चेतावनी दिए ।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘संक्रमण कालीन न्यायसँग जोडिएको केही विषयहरू छन्, जुन विषयहरूबारे हामी एकदम प्रष्ट हुनुपर्छ, यो विषय हामी सबैको विषय हो, खासगरी नेपाली कांग्रेसका लागि त हामी सुरुवात आफैले गरेको हो भन्छौं, हो पनि, त्यसैले यसलाई टुंग्याउने मुख्य जिम्मेवारी पनि हाम्रो हो, संक्रमण कालीन न्यायको विषय टुंग्याउँदै गर्दाखेरी मात्रै हामीले गिरिजाप्रसाद कोइरालाई सम्मान गरेको हुन्छौं ।’

यस्तै, महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरूकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताए ।

प्रतिक्रिया