शनिबार, वैशाख ८, २०८१

तनहुँ-१ उपनिर्वाचन : को-को छन् उम्मेदवार दाबी गर्ने कांग्रेस र एमालेका नेताहरू ?

कांग्रेसबाट गोविन्द भट्टराई र एमालेबाट एकबहादुर रानाको सम्भावना प्रवल

मेरोन्यूज २०७९ चैत ७ गते ८:३०

काठमाडौँ । गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएर कार्यभार सम्हालेपछि त्यो क्षेत्र रिक्त भएको छ ।

रिक्त क्षेत्रमा निर्वाचन आयोगले आगामी १० बैशाखमा निर्वाचन गर्ने मिति सोमबार तय गरिसकेको छ । र, १२ चैतसम्म उपनिर्वाचनमा सहभागी हुन चाहने दललाई दर्ता भइसक्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन सत्ता गठबन्धनका उम्मेदवार पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी हुँदा एमाले उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिष्पर्धा कांग्रेस र एमालेबीच नै हुँदै आएको छ ।

कांग्रेसबाट उम्मेदवार बन्ने पौडेल २०४८ सालदेखि २०७९ को निर्वाचनसम्म बीचमा एक पटक २०७४ को चुनावबाहेक अरू बेला तनहुँबाट जितिरहेका थिए । २०७४ मा भने एमाले र माओवादीबीच तत्कालीन वामगठबन्धनबाट कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए ।

१० बैशाखमा निर्वाचन हुने मिति तोकिएपछि कांग्रेस र एमालेबाट उम्मेदवार बन्न त्यस क्षेत्रमा नेताहरूले आ–आफ्नो पार्टीमा लविइङ सुरु गरेका छन् ।

प्राय कांग्रेसले जित्ने यो क्षेत्रमा कांग्रेसबाट प्रतिष्पर्धी धेरै देखिएका छन् । कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेर तनहुँ १ को टिकट माग गरिरहेका छन् ।

देउवा निवासमा नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई, रामचन्द्र पोखरेल, गोविन्द भट्टराई, ध्रुव वाग्लेले पुगेर टिकटमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । यी मध्य गोविन्द भट्टराई र वाग्ले पार्टीका केन्द्रीय सदस्य पनि हुन् ।

भट्टराईको नाम मंसिरको निर्वाचनमा पनि त्यो क्षेत्रमा सिफारिस भएको थियो । तर, पौडेल लड्ने भएपछि अन्तिम समयमा आएर उनले आफ्नो दाबी फिर्ता लिएका थिए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष र पार्टीमा सिनियर भएर पनि अवसर नपाएका नेतामा पर्ने भट्टराईले नै टिकट पाउने सम्भावना प्रवल छ ।

यता एमालेबाट नेपाल प्रहरीका पूवमहानिरीक्षक सर्वेन्द्र खनालदेखि मंसिरमा पौडेलसँग पराजित एकबहादुर रानासम्मले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा पुगेर भेट्दै आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

एमाले स्रोतले गत निर्वाचनमा पौडेलसँग पराजित राना मुख्य दाबेदार रहेको बतायो । उनी गत मंसिरको निर्वाचनसहित ४ पटक पराजित भएका छन् । ‘रानाप्रति अध्यक्षज्यूको सहानभूति छ, त्यसैले उहाँको सम्भावना अलि बढी छ,’ एमालेका एक नेताले भने ।

गत निर्वाचनमा काठमाडौं ६ बाट पराजित खनाल गृहजिल्ला फर्किन चाहेका र उनी पनि टिकट पाउने सम्भावितमध्ये एक भएको एमाले नेताहरू बताउँछन् ।

त्यस्तै एमालेबाट तनहुँ १ मा किरण गुरूङ, रामबहादुर गुरूङ र पूर्णबहादुर गुरुङले पनि आफ्नो दाबी प्रस्तुत गरेका छन् । तिनैजना गत निर्वाचनमा पराजित उम्मेदवार हुन् । किरण तनहुँ २, रामबहादुर तनहुँ १ ‘१’ र पूर्णबहादुर २ ‘१’ बाट पराजित भएका थिए ।

प्रतिक्रिया