शुक्रबार, वैशाख ७, २०८१

यस्तो छ कांग्रेसमा मन्त्री बन्‍ने/बनाउने कसरत

खड्कालाई नेतृत्व, बागमती र सदूरपश्चिममा मिलाउन सकस

मेरोन्यूज २०७९ चैत ६ गते ८:५८

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतबार संसद् भवन नयाँ वानेश्वरमा बसेको कार्यसम्पादन समिति बैठकको निर्णयमा लेखिएको छ, ‘संसदको सबैभन्दा ठलो दलका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी हुने निर्णय यो बैठक गर्दछ ।’

साथै बैठकले सरकारमा पार्टी सहभागी हुँदा मन्त्री छान्ने मापदण्ड पनि बनाएको छ । बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृस्टिगत गरेर चयन गर्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धनबीच एमालेले पाएका मन्त्रालयको संख्या कांग्रेस सरकारमा सहभागी हुँदा नघटाउने भन्ने मोटामोटी सहमति बनेको छ । यसो हुँदा कांग्रेसले ८ मन्त्रालय पाउने देखिएको छ ।

त्यसो भयो भने कार्यसम्पादन समितिको निर्णय अनुसार सभापति देउवाले सरकारमा पठाउने केही मन्त्रीका नामको खेस्रा बनाएको पनि निकट स्रोत बताउँछ ।

सात प्रदेशबाटै सरकारमा सहभागिता गराउने, त्यसमा लिंग, जातजाति, समावेशीता मिलाउने तयारी सभापति देउवाको रहेको उनी निकट नेताहरू बताउँछन् ।

पर्टीबाट सरकारको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने लगभग निश्चितजस्तै रहेको देउवा निकट स्रोतले बतायो । पहिला मन्त्री नबन्ने बताएका खड्का प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो वरियता दिन तयार भएपछि खड्का सरकारमा जान राजी भएको स्रोत बताउँछ । प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइरालासहितका नेताहररु पनि पार्टीको नेतृत्व गरेर सरकारमा जाने लविइङमा छन् ।

खड्का सरकारमा गएपछि उनले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछन् । उनीपछि अन्य मन्त्रीहरू सकरभर नयाँ पठाउने तयारीमा देउवा रहेको स्रोतले बतायो ।

उनीबाहेक सहमहामन्त्रीद्वय किशोरसिंह राठोर र जीवन परियार तथा तेजुलाल चौधरी र सिता गुरुङको नाम मन्त्री भएर जानेमा चर्चामा छ ।

राठोरले लुम्बिनी प्रेदश र खसआर्यको प्रतिनिधित्व गर्ने, परियारले गण्डकी प्रदेश र दलितको प्रतिनिधित्व गर्ने तथा चौधरीले मधेस र जनजातिको प्रतिनिधित्व गर्ने बुझाइ देउवाको छ । गुरुङले महिला र कोसी प्रेदशको प्रतिनिधित्व गर्ने देउवाको सचिवालय बताउँछ ।

त्यतिमात्र होइन परियारले राष्ट्रपति रामचन्द्र पौडेल कोटा, चौधरीलाई नेता डा.शेखर कोइराला कोटामा मन्त्री बनाउने तयारी रहेको छ ।

बागमती र सुदुरपश्चिममा भने मन्त्री कसलाई पठाउने भनेर प्रारम्भिक खेस्रा बनाउनसमेत देउवालाई गाह्रो भएको बताइन्छ । बागमतीबाट प्रवक्ता प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, उदयशमशेर राणा, श्याम घिमिरे, सहित सहित महिला सांसदहरू आकांक्षी छन् ।

उता सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा पनि मन्त्री बन्न हानथाप छ । देउवाका विश्वासपात्र भनिएकाहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलाएर मन्त्री बन्न कम्मर कसेर लागेका छन् । त्यस्तै सहमहामन्त्री बद्री पाण्डे, दीलेन्नद्र बडू पनि मन्त्री बन्नका लागि लागिरहेका छन् ।

यसले देउवा समस्यामा परेका बताइन्छ ।

प्रतिक्रिया