शुक्रबार, फागुन १८, २०८०

अमेरिकामा रेस्टुराँ चलाएका मार्भिन : जो संकटमा आत्तिएनन्, सफलतामा मात्तिएनन्

मेरोन्यूज २०७९ चैत ४ गते १९:०९

नेपालमा कुनै समय बोर्डिङ स्कुलका प्रिन्सिपल रहेका मार्भिन कार्की डिभी परेर अमेरिका पुगे । १४ वर्षभन्दा लामो समय अमेरिकामा पसिना बगाएपछि उनी अनुभव, पढाइ र संघर्षले खारिए । रेस्टुराँ, ग्यास स्टेसन, बारलगायत फरक क्षेत्रको अनुभवले उनलाई सफल व्यापार कसरी गर्ने भन्ने ज्ञान मिल्यो ।

कोभिड १९ को महामारी फैलिएकै बेला उनले ६ महिनामा ३ वटा रेस्टुराँ किने । हाल टेक्सासमा उनले पाँच वटा रेस्टुराँ सञ्चालन गरिरहेका छन् । नेपालमा पैसा कमाउन प्रशस्त सम्भावना देख्ने कार्कीले आफ्ना अनुभव, संघर्ष र भोगाई दिल खोलेर साटे । १२ वर्षपछि नेपाल घुम्न आइपुगेका कार्कीसँग मेरो न्यूजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईं पहिलोपटक अमेरिका कहिले पुग्नु भयो ? मनमा सपना बुनेर अमेरिका पुग्नु भएको थियो ?

म पहिलोपटक डिभी परेर सन् २००९ को जुलाई ११ मा अमेरिका उडेँ । १३ जुलाईमा अमेरिका पाइला टेकेँ । नेपालबाट अमेरिका जानुअघि मलाई लागेको थियो, अमेरिकामा ठूलाठूला गगनचुम्बी महल होलान्, चिल्ला सडकहरु होलान्, सडकमा महंगा–महंगा गाडी गुडिरहन्छन् होला, चारैतिर बिजुली बत्तीले झिलिमिलि देखिन्छ होला । अमेरिकामा बस्नेहरु सबै सुखी र खुसी छन् होला भन्ने लाग्थ्यो । सुरुमा ओहायो राज्यमा ल्याण्ड गर्ने क्रममा मैले कल्पना गरेका सबै दृश्यहरु देखेँ । तर, त्यहाँबाट ४५ मिनेट ड्राइभ गरेर अर्काे गन्तव्यमा पुगिसकेपछि भने अर्कै लाग्यो ।

यहाँ स–साना गाउँहरु देखिए । नेपालकै झझल्को दिने चिजहरु मैले त्यहाँ भेटेँ । बनस्पति, नेपालको जस्तै काठमा टाँगिएका तारहरु देखिन्थे । बाटाहरु राम्रा थिए । तर, नियमबद्ध रुपमा गाडीहरु गुडिरहेका देखिन्थे । पछि बुझ्दा थाहा भयो, अमेरिकाका ८० प्रतिशत भूभाग यस्तै रहेछन् । थोरै जनसंख्या भएका शहरहरु यस्तै हुने रहेछन् ।

Advertisement

अमेरिका प्रवेश गरेपछि सुरुमा के कस्तो संघर्ष झेल्नुपर्‍यो ? त्यहाँको जनजीवनमा भिज्न कत्तिको कठिनाई भयो ?

सुरुमा वाटरलु आइओआबाट मेरो संघर्ष सुरु भयो । एउटा कन्भिनियन्ट स्टोरमा काम सुरु गरेँ । एक घण्टाको सात डलर २५ सेन्ट दिन्थ्यो । त्यसको १५ दिनपछि वालमार्टमा पनि दोस्रो कामको सुरु गरेँ । यो संसारकै सबैभन्दा बढी कर्मचारी भएको ग्रोसरी चेन हो । रातिको समयमा ड्युटी गर्थेँ । प्रतिघण्टा आठ डलर ८५ सेन्ट दिन्थ्यो । मैले वर्षको ३६ हजार डलर कमाउने सपना बोकेँ । यसरी दुई वर्षमा ७२ हजार डलर कमाउने र त्यो पैसाले नेपालमा आएर स्कुलको भवन बनाउने योजना थियो । अमेरिकामा नबस्ने मेरो सोच थियो । किनकी दिनको १७ घण्टा काम गर्नु पथ्र्यो ।

बिहान ११ बजे गएर एकैपटक ८ बजे फर्किन्थेँ । फेरि राति काम गर्न जान्थेँ । निद्रा पुग्दैनथ्यो । घरीघरी रुन मन लाग्थ्यो । रिस उठ्थ्यो । एक वर्ष यसरी खटेर काम गरे पनि खाता चेक गर्दा मात्र ११ सय डलर थियो । मेरो योजना चाहिँ ३६ हजार डलर जम्मा गर्ने थियो । सपना र यथार्थबीच ठूलो अन्तर भयो । मलाई बिचैमा अमेरिका छाडेर नेपाल फर्किन मन लाग्यो ।

बिचमा मैले एमबिए भर्ना गरेँ । तर, पहिलो सेमेस्टरमै आठ हजार डलर तिर्नुपर्ने भयो । पैसा तिर्न नसकेर बिचैमा छोडिदिएँ । २०११ को मार्चमा म नेपाल फर्किएँ । यहाँ चलिरहेको मेरो स्कुल बेचिदिएँ । बचेको पैसा बोकेर फेरि अमेरिकामा व्यापार गर्ने मनसाय बनाएँ । एक नेपालीले ग्रिक एण्ड अमेरिकन कुजिन खोल्नु भएको थियो । त्यसमा ३० लाख रुपैयाँ जतिको सेयर लिएँ । हनी गार्डेन फ्यामिली रेस्टुराँ पनि पार्टनरसिपमा चलाइयो । आठ महिनापछि पूरै रेस्टुराँ नै आफैले किनेँ । तर, व्यापार राम्रो भएन । रेस्टुराँ बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्थ्यो ।

रेस्टुराँ किन चलेन भनेर म अध्ययन, अनुसन्धान गर्नतिर लागेँ । मानिसहरूले के खान्छन्, के रुचाउँछन्, यहाँ बस्ने मानिसहरुको कमाई कति छ ? त्यो बारेमा अध्ययन गरेँ । जुन रेस्टुराँ एकदम व्यस्त छ, त्यहाँ गएर बुझेँ । मानिसहरुले के अर्डर गर्छन्, के चल्छ ? त्यो अध्ययनले मलाई धेरै कुरा सिकायो । मैले बिहान ५ बजेदेखि राति बजेसम्म रेस्टुराँ चलाएँ । दुई, तीन महिनापछि मानिसहरु ओइरिन थाले । विस्तारै मैले कन्भिनियन्ट स्टोर र बार खोलेँ । पाँच वर्षसम्म मैले यसरी नै रात दिन काम गरेँ । चाडपर्व, दसैं, तिहार केही नभनी काम गरेँ । अहिले मेरो जुन स्टाटस छ, त्यो बिगत पाँच वर्ष मैले दुःख गरेर कमाएको पैसाले नै बनेको हो ।

बिचैमा छोड्नु भएको अध्ययनलाई फेरि निरन्तरता दिनु भयो कि ? पूर्ण विराम नै लाग्यो ?

बिचमा ५/७ वर्ष पैसा कमाएपछि फेरि पढाईलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो । मैले युनिभर्सिटी अफ अपर आयोवाबाट एमबिएमा मास्टर्स तहको अध्ययन पूरा गरेँ । दुई वर्षको यो कोर्ष पढ्नका लागि मात्र मैले युनिभर्सिटीलाई ८० हजार डलर तिरेँ । त्यसको एक वर्षपछि मेरो श्रीमतीले पनि त्यही कोर्ष पूरा गरिन् ।

पहिलेभन्दा आर्थिक अवस्था सबल भइसकेपछि नेपाल आउने सपना ब्यूँतियो कि बिचैमा तुहियो ?

स्कुल बेचेपछि नेपाल आउने सपना बिचैमा तुहियो । अलिअलि पैसा कमाएपछि नेपालमा जग्गा पनि जोडियो । तत्कालै नेपाल आउने सपना भएन । बरु अमेरिकामा आफूले हात हालेको व्यापारलाई नै फैलाउन लागेँ ।

कुन बिन्दुबाट तपाईं अमेरिकामा व्यापारमा जम्नु भयो ? टर्निङ प्वाइन्ट कुन थियो ?

म रेस्टुराँ व्यवसाय नै गर्न चाहन्थेँ । तर, फरक खालको । म बसिरहेको स्थान छोडेर मैले टेक्सास जाने निर्णय गरें । त्यहाँ गर्मीले बिहान ७ बजे खुल्ने रेस्टुराँहरु दिउँसो २ बजे नै बन्द भइसक्थे । मैले टेक्सासमा सन् २०१९ मा चलिरहेको रेस्टुराँ लिएँ । नयाँ ठाउँमा फेरि अर्को चरणको संघर्ष सुरु भयो । त्यहीबीचमा कोभिड आयो । प्लेन सुरु भयो भने त नेपाल जान पाए हुन्थ्यो भन्ने लाग्यो ।

एकदमै अत्यास लाग्दो माहोल थियो, त्यो । व्यापार, व्यवसाय चौपट बनेको थियो । कोभिड १९ ले धमाधम मानिसहरु मरिरहेका थिए । सबैजनालाई अब त डुबियो भन्ने लाग्यो । पहिला बिक्री गर्नुपर्दा १० लाख डलर पर्ने रेस्टुराँ कोरोनामा पाँच लाखमै पाइन थाले । ‘डु अर डाई’को अवस्था आयो । त्यही मौकामा मैले अर्को रेस्टुराँ खरिद गरेँ । त्यो जोखिमपूर्ण अवस्था थियो । तर, जोखिम मोलेँ ।

त्यही बेला ट्रम्प प्रशासनले एक वर्ष घरको भाडा नतिरे पनि हुने नियम ल्यायो । व्यापारीहरुलाई सहुलियत स्वरुप केही रकम पनि दियो । मैले ६ महिनामा ३ वटा रेस्टुराँ किनेँ । कोभिडले गर्दा संसारमा दिनहुँ हजारौं मानिसहरु मरिरहेका थिए । मैले त्यस्तो बेला जोखिम लिएँ, जुन बेला ज्यान बचाउनु नै ठूलो कुरा थियो । मैले रेस्टुराँ लिएको दुई हप्तामै टेक्सास खुल्यो । तैपनि सबैतिर रेस्टुराँ व्यवसाय पूर्ण रुपमा खुलिसकेको थिएन । मेरो भने खुला थियो । मैले चुनौति लिएरै भए पनि खोलेको थिएँ ।

अहिले मैले अमेरिकामा पाँच वटा रेस्टुराँ चलाइरहेको छु । एक सय २५ जनालाई रोजगारी दिएको छु । मेरो व्यवसायमा केही पार्टनर पनि अहिले जोडिनु भएको छ । वास्तवमा कोभिड १९ एउटा अवसर भएर आयो मेरा लागि । तर, चुनौति भने मैले लिएकै हो । चुप लागेर बसेको भए केही प्रगती हुँदैनथ्यो ।

पैसा कमाउने सुत्र चाहिँ के रहेछ ?

मिहिनेत । हिजो कुनै दिन म दिनको १७ घण्टा काम गर्थें । राम्रोसँग निदाउन पनि पाइदैनथ्यो । अहिले दिनको ५ घण्टा खट्दा मासिक हजारौं डलर आम्दानी गरिरहेको छु । यो संसारमा जति धेरै मिहिनेत गर्दै गयो, नेटवर्क बनाउँदै गयो, त्यति नै कमाई गर्न सकिने रहेछ । तर, एउटै काममा निरन्तर लागिरहनु पर्छ । आफूले हात हालेको कामबाट पैसा आएन भने अर्काेतिर हात हाल्ने काम गर्नु हँुदैन । विस्तारै अब अन्य देशमा पनि व्यापार विस्तार गर्ने सोच छ ।

तपाईंलाई अमेरिकाले के सिकायो ?

अमेरिकामा काम नगरी खान पाइदैन । नेपालमा काम नगरी केही हप्ता, महिना दैनिकी चलाउन सकिन्छ । तर, उता एक दिन पनि गुजार्न सकिदैन । पहिलो कुरा मिहिनेत गर्न सिकायो । त्यहाँ सबैथोक बजारमा किन्ने हो । हाम्रो जस्तो माटो नभएकाले उत्पादन हुँदैन । त्यस्तो वातावरण पनि छैन । कोही १४ वर्ष पुग्ने बित्तिकै त्यहाँ पार्ट टाइम काम सुरु गर्छन् ।

नेपालमा ३२ वर्ष पुगुञ्जेलसम्म पनि आमा बुबाको कमाई खाइरहेका हुन्छन् । अमेरिकामा सबै काममा व्यस्त हुन्छन् । नेतालाई गाली गर्ने फुर्सद हुँदैन । अर्को कुरा त्यहाँ नियम, कानुनको कडाईका साथ पालना गरिन्छ । कानून उल्लंघन गर्नेलाई सरकारले जरिवाना तिराउँछ ।

नेपालमा लगानी गर्ने बारेमा कुनै सोच छ ?

एकदमै इच्छा छ । नेपालमा मैले अध्ययन गर्दा प्रशस्त सम्भावना देखेँ । तर, लगानीको सुरक्षा चाहिन्छ । विदेशमा बस्ने नेपालीहरुले सहजै रुपमा यहाँ लगानी भित्र्याउन नमिल्ने अर्को समस्या छ । यहाँ भएको नाफा लान पनि समस्या छ । कानूनी प्रकृया र अफिसियल झमेला नहुने हो भने विभिन्न क्षेत्रमा लगानी गर्ने मेरो सोच छ ।

कमाउनका लागि विदेश पलायन हुने सोच बोकेका व्यक्तिहरुलाई के सुझाव दिनु हुन्छ ?

विदेशमा गएर पैसा कमाउन सकिन्छ भन्ने सत्य होइन । नेपालमै पनि व्यापार गरेर अर्बौं कमाएका व्यक्तिहरु मैले भेटेको छु । तर, उहाँहरुले ३५/४० वर्ष एउटै क्षेत्रमा संघर्ष गर्नु भएको छ । वास्तवमा नेपालमा सफल व्यवसायीहरुले जति कमाउनु भएको छ, त्यति त विदेशमा बस्नेले पनि कमाउनु भएको छैन होला । नेपालमै विदेशमा जति मिहिनेत गर्ने हो भने धेरै कमाउन सकिन्छ । विदेश पलायन हुने सोच नबोक्नुहोस् ।

प्रतिक्रिया