बिहीबार, चैत १५, २०८०

स्ववियु निर्वाचन र विद्यार्थी संगठनको महत्व

अमृत शाही ठकुरी २०७९ चैत ४ गते १८:२१

नेपालकै सबैभन्दा पुरानो तथा ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको चुनावी माहोल तातिरहेको छ । विं.सं. २०१६ मा स्थापित त्रिवि उच्च शिक्षा हासिलका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । नेपालमा अहिले १२ वटा विश्व विद्यालय स्थापना भइसकेका छन् ।

मुलुकको समृद्धि शिक्षाबाट मात्र सम्भव छ भन्ने कुरा आम मानिसको मानसपटलमा स्थायी रुपमा बसेको छ । असल शिक्षाले दक्ष जनशक्ति तयार पार्छ । ती दक्ष जनशक्तिले कालान्तरमा मुलुकका हरेक क्षेत्रको विकासमा टेवा पुर्‍याउँछन् । अहिलेको चुनौती भनेको ‘पढ्न त पढ्ने तर पढेर के गर्ने ?’ भन्ने प्रश्नको वरिपरी घुमिरहेको छ ।

युवा पुस्तामाझ हाम्रो शिक्षा प्रणालीप्रति गहिरो आक्रोश छ । हाम्रो शिक्षा न व्यवसायिक छ, न त प्रयोगात्मक र प्राविधिक छ । देशमा भएका प्राविधिक जनशक्ति पनि नेपालमा सम्भावना नदेखेपछि विदेश पलायन हुने भयावह अवस्था छ । अहिलेको अवस्थामा त्रिविले प्रत्येक वर्ष लाखौँको मात्रामा स्नातक र स्नातकोत्तरमा बेरोजगार उत्पादन गरिरहेको छ भन्दा अतियुक्ति नहोला ।

वर्षेनी विश्व विद्यालयमा विद्यार्थीहरूको संख्या घट्नुका विभिन्न कारणहरू छन् । पहिलो कारण, अहिलेका विद्यार्थी पूरै समय विद्यार्थी मात्रै नभएर श्रमसँग जोडिने मानसिकतामा छन् । त्यो अवसरको सिर्जना यहाँ भएन । त्यसको उदाहरण त्रिविमा दिउँसो सञ्चालन हुने शैक्षिक कार्यक्रम हो । देशका विभिन्न क्याम्पसहरूको हालत दयनीय छ । त्यसैले देश बनाउने हो भने पहिलो सुधार विद्यालय र विश्व विद्यालयबाटै हुनु पर्छ ।

आसन्न स्ववियु निर्वाचन

Advertisement

स्ववियु एक मिनी संसदका रुपमा बुझिन्छ । त्यसैले एउटा असल विद्यार्थीले नै विद्यार्थी नेताका रुपमा स्ववियुको नेतृत्व गर्ने अवसर प्राप्त गर्नु पर्छ । आजको नयाँ युगमा नयाँ शिक्षा नीति तय गरेर हातमा प्रमाण पत्र प्राप्त गरेपछि पनि रोजगारी र रोजीरोटीका लागि कि त विदेशिनु पर्ने कि त प्रमाणपत्र सिरानीमुनी हाल्नुको अर्को विकल्प छैन ।

यसपालि एकचोटी विद्यार्थीहरूका लागि सुनौलो अवसर आएको छ । यस अवसरलाई हामी विद्यार्थीहरूले गुमाउनु हुन्न । स्ववियुबाट विद्यार्थीहरूलाई धेरै कुरा सिक्नका लागि मिल्छ । आफ्ना समस्याहरूलाई पनि समाधान गर्ने माध्यम विद्यार्थीहरूलाई मिल्ने गर्छ । स्ववियु विद्यार्थीको साझा चौतारी हो । जसले विद्यार्थी र प्रशासनबीच पुलको भूमिका खेल्छ ।

नयाँ नेतृत्व विकाससँगै शैक्षिक सुधार गरी विद्यार्थीको अतिरिक्त क्षमता विकास एवं क्याम्पस प्रशासनलाई पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन स्ववियु निर्वाचन अपरिहार्य छ । हाम्रो जीवनसँग सम्बन्धित हरेक कुरा राजनीतिसँग जोडिएको छ । त्यसैले आफ्नो भविष्य उज्ज्वल बनाउन आतुर छन् । अध्यारोभित्र उज्यालो किरणको खोजीमा छन् ।

स्ववियु निर्वाचन विद्यार्थी संगठनहरूको विचार, सिद्धान्त र कार्यक्रमहरूका साथै विद्यार्थी नेताहरूका गतिविधि र इमानदारितालाई जाँच्ने कसी हो । र, आफ्ना क्याम्पसमा भएका विभिन्न समस्याहरू समाधान गर्नका लागि स्ववियुको एकदमै महत्व भएकाले स्ववियुको चुनावलाई सफल पार्नु हरेक विद्यार्थीको कर्तव्य पनि हो ।

विद्यार्थी संगठनको भूमिका

एउटा व्यक्तिले बोल्दा त्यति प्रभावकारी नहुने भएकाले एउटा न संगठनको आवश्यकता पर्दछ । त्यसैले उनीहरूले ती समस्याहरूबाट समाधान विभिन्न विद्यार्थी संगठन र वैकल्पिक भन्ने विद्यार्थी संगठन र आज स्वतन्त्र उम्मेदवारहरूसँग पनि स्पष्ट सैद्धान्तिक विचारसहित शिक्षा क्षेत्रका खाकाभन्दा पनि उही पुरानो संगठनका नेताहरूलाई गाली गर्नेबाहेक अरु एजेण्डा केही छैन ।

जबसम्म संगठनहरूमा विद्यालय र विश्व विद्यालय सन्दर्भमा दरिलो वैचारिक बहसको सुरुवात हुँदैन तबसम्म हामी पछाडि नै पर्छाैं । यो कार्य विश्वविद्यालय तहमा हुनु पर्ने हो । तर, हाम्रा विश्व विद्यालय मृततुल्य छन् । अर्काेतिर युवाहरूमा नयाँ कुरा सिक्ने सिकाउने भन्दा पनि अरुको आलोचनामा दिन बिताउने प्रवृत्ति बढ्दो छ ।

चुनावमा भोट पाउन प्रत्यक्ष विद्यार्थीसँग भिजेको हुनुपर्छ । स्वतन्त्र र युवा भन्दैमा विद्यार्थीले भोट दिँदैनन् । क्याम्पसमा हुने विद्यार्थी संगठनको संरचना, प्रारूप र उद्देश्यमा गम्भिर समीक्षा गर्दै राजनीतिक दलसँगको आवद्धता नभएका संगठन निर्माण गर्न सक्दैनौँ ? यतिबेला विद्यार्थी आन्दोलन दिशाहीन भएको र कतिपयले यसलाई ‘म्याद नाघेको औषधि’को संज्ञा दिइरहेका छन् ।

क्याम्पसका ठेक्कापट्टा, शिक्षक नियुक्ति, नक्कली कार्ड, थेसिस बेचबिखन, प्रश्नपत्र खरिद-बिक्री, विद्यार्थीको भर्ना रकममा अनियमितता, प्रशासनसग विभिन्न बहानामा पैसाको लेनदेन आदि तमाम मुद्दामा आजको विद्यार्थी आन्दोलन र संगठनहरुको ठूलो भूमिका छ । उहिले ‘न्याय नपाए गोर्खा जानु भन्थे अहिले बेरोजगारी भएर काम नपाए राजनीतिसँग जोडिनु’ भनिएको सुनिन्छ । हामीले यो मान्यतालाई भत्काउन जरुरी छ । त्यसका लागि सक्षम र सबल नेतृत्वलाई हामीले जिताउनु पर्छ ।

लेखक नेविसंघ त्रिचन्द्र क्याम्पसका इकाई सभापति तथा कानूनका विद्यार्थी हुन् ।

प्रतिक्रिया