मंगलबार, चैत ६, २०८०

सांसद डा. भण्डारीको जलेको अनुहारमा शल्यक्रिया गर्न नपर्ने

मेरोन्यूज २०७९ चैत ३ गते ८:१५

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारमा शल्यक्रिया गर्न नपर्ने भएको छ ।

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ हुँदा भएको आगलागीबाट जलेको अनुहारको छालामा कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेकाले शल्यक्रिया गर्न नपर्ने डाक्टरहरूले बताएको उनका दाजु मिनप्रसाद भण्डारीले जानकारी दिए ।

भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको दाजु भण्डारीले जानकारी दिए ।

“डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, डा भण्डारीका दाजु मीनप्रसादले भने । स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले जानकार िदिए ।

सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।

Advertisement

प्रतिक्रिया