शुक्रबार, चैत १६, २०८०

नेपाली खेलाडीको क्षमता अद्भुत छ : मोन्टी देशाई

मेरोन्यूज २०७९ चैत २ गते २०:४१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आरिफ शेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्न सफल भएको बताएका छन् ।

लिग–२ को अन्तिम खेलमा युएईबिरुद्ध डिएलएस पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले शुरुवात खराब भएपनि आरिफ र गुल्सनको साझेदारी इनिङको सहयोगमा जित सम्भव भएको बताएका हुन् ।

शुरुवात नराम्रो भएपनि यस अघिका खेलबाट बटुलेको अनुभवको आधारमा अगाडि खेल्दै जाँदा सुखद् नतिजा निस्किने विश्वासका साथ खेलेको बताए ।

यो बीचमा आरिफ र गुल्सनको साझेदारी नै महत्वपूर्ण रहेको बताए । राम्रो रनको लक्ष्य भएपनि दोस्रो इनिङमा विकेट राम्रो भएको भन्दै पछ्याउनसक्ने विश्वास साथ खेल्न टिम रणनीति बनेको कप्तान रोहितले बताए ।

यस्तै प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताए । यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए ।

Advertisement

खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाईले थपे ।
नेपालले प्राप्त गरेको सफलता पछि भावुक समेत देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए । उनले सो क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भुत क्षमता भएको र भविष्यमा उनीहरुले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने बताए ।


लिग–२ को अन्तिम खेलमा नेपालले भ्रमणकारी युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भयो । नेपालले युएईलाई हराएपछि शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ ।

जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ । छनोटमा कुल १० टोली हुनेछन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् ।

प्रतिक्रिया