शनिबार, वैशाख ८, २०८१

आमाको मिर्गौलाबाट छोराले पाए पुनर्जीवन

मेरोन्यूज २०७९ फागुन २९ गते १८:३३

गलकोट । “आफैँले जन्माएको छोरा मृत्युको मुखमा पुगेको कसरी हेर्नु ? अङ्गदान दिएर छोरालाई बचाएँ, बरु उसैको काखमा मरुँला”, छोरालाई मिर्गौला दान दिएर पुनर्जन्म दिनुभएकी आमा कमला पुनले भनिन्, “मिर्गौलाको सफल प्रत्यारोपणपछि छोराले पुनर्जन्म पाउँदा निकै खुसी छु, छोराको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्नेलाई हृदयदेखि धन्यवाद छ ।”

छोराको जीवनरक्षाका लागि आफूले मिर्गौला दिने निर्णय गरेको बताउँदै पुनले आफूले जन्म दिएको छोरा बाँचेको हेर्ने रहर पूरा भएको बताए । स्थानीय सहयोगदाताको साथ र आफ्नो मिर्गौलाका कारण छोराको जीवनरक्षा भएकोमा कमला खुसी भइन् । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम निवासी बोमबहादुर पुनको गण्डकी अस्पताल पोखरामा मिर्गौलाको हालै मात्र सफल प्रत्यारोपण भएको छ ।

दुवै मिर्गौला फेल भएर जीवनमरणको दोसाँधमा पुगेका २५ वर्षीय बोमबहादुरले जन्मदाता आमाको मिर्गौला पाएर पुनर्जीवन पाएका हुन् । आमाको मिर्गौला पाएर पुनर्जीवन पाउनुभएका २५ वर्षीय बोमबहादुर अहिले पोखरामा उपचारकै क्रममा छन् ।

“अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा पोखरामै आमा छोरा बस्दै आएका छौँ, आमाले दिएको मिर्गौलाले पुनर्जन्म पाएँ”, मिर्गौलाको सफल प्रत्यारोपण गर्नुभएका बोमबहादुरले भने, “उपचारका लागि धेरै रकम खर्च भयो, जसका लागि हाम्रो परिवारको क्षमताभन्दा माथि थियो, तर देश विदेशमा रहनुभएका आफन्तजन र शुभेच्छुकबाट रु २० लाख सहयोग प्राप्त भयो, जसले मेरो जीवनरक्षाका लागि सहयोग पुग्यो ।”

गत भदौमा दुवै मिर्गौला फेल भएको पत्तो पाएका बोमबहादुरको उपचारका लागि आर्थिक समस्या परेको थियो । भदौमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दुवै मिर्गौला फेल भएको पत्ता लाए पनि बोमबहादुरको मणिपाल अस्पताल, फिस्टेल अस्पताल र आस्था अस्पतालमा डायलासिस भएको थियो । स्वास्थ्य परीक्षणका क्रममा आमाले छोरालाई मिर्गौला दिन मिल्ने भएपछि गण्डकी अस्पताल पोखरामा हालै मिर्गौलाको सफल प्रत्यारोपण गरिएको पुनले बताए ।

“आमाले मैले दिन्छु भनेपछि परिवारमा सल्लाह भयो, उहाँको मिर्गौला परीक्षणपछि मिर्गौला प्रत्यारोपण गर्न मिल्ने चिकित्सकको सल्लाहअनुसार प्रत्यारोपण गरिएको हो, अहिले आमा र मेरो स्वास्थ्यमा सुधार आएको छ, केही समयकोे उपचारपछि घर फर्कने तयारीमा छौँ”, छोरा पुनले खुसी हुँदै भने, “आमाले जन्म त दिनुभएको थियो, २५ वर्षपछि आफ्नै मिर्गौला दिएर पुनर्जन्म दिनुभयो, आमाप्रति कसरी धन्यवाद भनुँ, कुनै शब्द छैन ।”

डायलासिस गराउने क्रममा उपचार खर्चको अभाव भए पनि आफन्त गिरीबहादुर पुन संयोजक भएर ‘मिर्गौला पीडित बोमबहादुर बचाउ अभियान’ अन्तर्गत आर्थिक सङ्कलन समिति गठन गरिएको थियो । उक्त आर्थिक सङ्कलन समितिले बोमबहादुरको डायलासिस तथा मिर्गौला प्रत्यारोपणका लागि विभिन्न चरणमा गरेर रु १९ लाख २९ हजार सहयोग रकम प्रदान गरिसकेको मिर्गौला पीडित बोमबहादुर बचाउ अभियानका संयोजक पुनले बताए ।

बोमबहादुरका आफन्त, देश विदेशमा रहनुभएका शुभेच्छुक, युके समाज तङ्ग्राम, पोर्चुगलमा रहनुभएका आफन्तजन, ताराखोला गाउँपालिका समाज कतार, कोरियामा रहेका नेपालीलगायत २७ सङ्घ, सङ्गठन तथा शुभेच्छुकको पहलबाट सङ्कलित रकम रु १९ लाख २९ हजार मिर्गौला पीडित बोमबहादुरलाई हस्तान्तरण गरिएको संयोजक गिरीले बताए ।

“आर्थिक अवस्था कमजोर रहेको मिर्गौला पीडित बोमबहादुरको परीक्षणका क्रममै धेरै रकम खर्च भइसकेको थियो, प्रत्यारोपण र थप औषधि उपचारका क्रममा परिवारले थेग्न सक्ने अवस्था थिएन, मिर्गौला रोगका लागि धेरै खर्च लाग्ने रहेछ”, संयोजक गिरीले भने, “बोमबहादुरको अहिले मासिक रु ६० हजार खर्च औषधि उपचारमा लाग्ने रहेछ, उहाँको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।” अहिले आमा कमला पुन र छोरा बोमबहादुर पुन पोखरामा बसेर गण्डकी अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया