बिहीबार, वैशाख १३, २०८१

कांग्रेसले सरकारमा जाने मन्त्रीको काम मुल्यांकन गर्न निर्देशन समिति बनाउने

समितिमा दुई उपसभापति, दुई महामन्त्री र प्रवक्तालाई राखिने

मेरोन्यूज २०७९ फागुन २८ गते १८:५६

काठमाडौँ । वर्तमान गठबन्धन सरकारमा जाने मन्त्रीहरूको काम मुल्यांकन गर्न प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले निर्देशन समिति बनाउने भएको छ ।

सभापति देउवाले सरकारमा जाने मन्त्रीहरूको कामको मुल्यांकन गर्न उपसभापतिद्वय पूर्वबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता डा. प्रकाशशरण महत रहेको मन्त्रीहरूलाई निर्देशन दिने म्याण्डेटसहितको निर्देशन समिति बनाउने बताएका हुन् ।

नेताहरूसँग देउवाले आफूले निर्देशन समिति बनाउने र त्यो निर्देशन समितिको निर्देशनबमोजिम सरकारमा जाने मन्त्रीहरूले काम गर्नु पर्ने बताएका एक नेताले जानकारी दिए ।

डा. महत अर्थमन्त्री बनेर सरकारमा जाने कसरत गरिरहेका बेला देउवाले निर्देशन समिति बनाएर उनलाई त्यही समितिमा थन्क्याउन लागेका हुन् । महामन्त्री थापाले यो ५ वर्षे कार्यकालमा आफू मन्त्री नबन्ने घोषणा गरेका छन् ।

उपसभापति खड्काले पनि आफू मन्त्री नबन्ने घोषणा २०७२ सालमै गरेका थिए । उपसभापति गुरुङ भने सरकारमा जान खुट्टा उचालेर बसेका थिए । तर, देउवाले निर्देशन समिति बनाउने भनेपछि उनी अन्यौलमा रहेको एक नेताले बताए ।

धेरे नेताहरूले पार्टीमा एकता कायम गर्न नेता डा. शेखर कोइरालाको नेतृत्वमा कांग्रेस वर्तमान सरकारमा जानु पर्ने सुझाइरहेका छन् ।

त्यस्तै अहिलेसम्म मन्त्री नबनेका र प्रत्यक्ष निर्वाचन जितेका नेतालाई मात्रै सरकारमा पठाउनु पर्ने सुझाव पनि धेरै नेताहरूले देउवालाई दिइरहेको उनको सचिवालयमा काम गर्ने एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया