शुक्रबार, वैशाख १४, २०८१

स्पेनस्थित नेपाली दूतावासमा होली र अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

मेरोन्यूज २०७९ फागुन २५ गते १७:३५

काठमाडौँ । स्पेनको मड्रिडस्थित नेपाली राजदूतावासले फागु पूर्णिमा तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा होली पर्व सफलतापूर्वक आयोजना सम्पन्न गरेको छ ।

राजदूत निवासमा आयोजित उक्त कार्यक्रममा राजदूतहरू, स्पेन सरकारका विशिष्ट व्यक्तित्व, कूटनीतिज्ञ, प्रभावशाली स्पेनी नागरिक, प्रवासीलगायत व्यक्तिको उपस्थिति रहेको थियो । नेपालीहरूको पर्व होली मनाउनुको उद्देश्य सांस्कृतिक आदान–प्रदान तथा प्रवर्द्धन गर्नु रहेको थियो ।

साथै, राजदूतावासले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भलाई समेट्दै नेपाली समाज र विश्वमा महिलाको योगदानबारे प्रकाश पारेको थियो । कार्यक्रमको सुरुवात स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालको मन्तव्य राखेकी थिइन् ।

उनले कार्यक्रममा सहभागी हुने सबैप्रति कृतज्ञता व्यक्त गर्दै मड्रिडजस्तो बहुसांस्कृतिक सहरमा सांस्कृतिक आदान–प्रदान र विविधताको महत्वबारे उल्लेख गरेकी थिइन् । उनले होलीलाई वीरता, करुणा र शान्तिपूर्ण स्वअस्तित्वको प्रतीकका रुपमा वणर्न गर्दै यसले नेपालको समृद्ध संस्कृति र विविधतालाई प्रस्तुत गर्ने बताइन् ।

राजदूत ढकालले शिक्षा, स्वास्थ्य सेवादेखि राजनीति, व्यवसायलगायत समाजका अन्य विभिन्न क्षेत्रमा महिलाहरूको अमूल्य योगदानको पनि स्मरण गरेकी थिइन् । संसारलाई एउटा आकार दिन महिला तथा नारीहरूले महत्वपूर्ण भूमिका खेलेको सन्दर्भलाई जोड दिँदै उनले लैङ्गिक समानता र महिला सशक्तिकरणको प्रवर्द्धन गर्न आफ्नो दृढ प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

कार्यक्रममा विश्वभरका सांस्कृतिक विविधता झल्काउने किसिमका चाडपर्वसँग सम्बन्धित गीत, संगीत तथा नेपाली लोकनृत्य समेत समावेश गरी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित व्यक्तित्वहरूले फागु पर्वको माहौलमा भक्का, सेलरोटी, मःमः, सेकुवाजस्ता नेपाली परिकारको मज्जा लिएका थिए ।

म्याड्रिडस्थित नेपाली राजदूतावासले स्पेनका विभिन्न संघ संस्थासँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको थियो । भव्य रुपमा सफल बनाउन मद्दत गरेको थियो । राजदूतावासले भविष्यमा यस्तै कार्यक्रम आयोजना गर्ने अपेक्षा गरेको छ । जसले सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने मात्र नभई नेपाल र स्पेनबीचको सम्बन्धलाई थप मजबुत बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया