शनिबार, वैशाख ८, २०८१

कांग्रेसबाट सरकारमा नेतृत्व गर्ने सम्भावित चार नेता

प्रवक्ता डा. महत र पूर्वउपसभापति निधिसमेत इच्छुक भए पनि नेतृत्व सकारात्मक नरहेको नेताहरू बताउँछन्

मेरोन्यूज २०७९ फागुन २४ गते १२:१२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले प्रधानमन्त्री बाहेक १६ मन्त्रालय सम्हालीरहेका छन् । १० पुसमा नेपाली कांग्रेससँगको गठबन्धन त्यागेर नेकपा एमाले, राष्ट्रीय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ७ दलीय गठबन्धनन बनाएर प्रधानमन्त्री बनेका दाहालले अहिले फेरि पुरानो गठबन्धन ब्यूताएका छन् ।

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरेका छन् भने सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसका प्रदेश संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा विश्वासको मत दिएका छन् ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार पौडेलको प्रस्तावकमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बसेपछि नेकपा एमाले सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री दाहालले कांग्रेससँग बैठक बस्ने क्रम बाक्लो बनाएपछि राप्रपा सरकारबाट त्यसअघि नै बाहिरिएको थियो । दुबै दलले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन् ।

अर्थात अब सरकारमा माओवादी र जनमतको एक जना मन्त्रीमात्रै छन् । बाँकी सबै मन्त्रालय प्रधानमन्त्री दाहालले सम्हालेका छन् । त्यसअघि नागरिकताका कारण पार्टी सभापति रवि लामिछानेले गृह मन्त्रालय गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सरकार छाडेको थियो ।

यो सँगै कांग्रेसले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने प्रतिबद्धता माओवादीसँग जनाएको छ । २५ फागुनमा (भोलि) हुने निर्वाचनका लागि आचारसंहिता जारी भएकाले मात्रै दाहालले तत्काल मन्त्रिपरिषद् विस्तार गरेर कांग्रेसलाई सरकारमा नभित्र्याएका हुन् ।

कांग्रेसभित्र भने कसको नेतृत्वमा सरकारमा जाने भन्ने गलफत्ती सुरु भइसकेको छ । धेरै नेताले आफ्नो नेतृत्वमा पार्टी सरकारमा जाने भन्दै दाबी प्रस्तुत गरेका छन् । कांग्रेसले पहिलो वरीयताको उपप्रधानमन्त्रीसहित, अर्थ, गृह, परराष्ट्रलगायत ‘प्रभावशाली’ मन्त्रालयमा दाबी गरिरहेकाले वरिष्ठ भनिएका नेताहरू सरकारमा नेतृत्व गरेर जान आ–आफ्नो पक्षमा लविइङ गरिरहेका छन् ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइरालामध्ये एकको नेतृत्वमा कांग्रेस सरकारमा जाने नेताहरू बताउँछन् ।

सभापति शेरबहादुर देउवापछिको वरियता भएका उपसभापति खड्काले पार्टीको नेतृत्व गरेर सरकारमा जाने नेताहरूले बताउँदा खड्का आफैले भने मन्त्री नबन्ने संकेत गरेका छन् ।

‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनर्स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ । अब मेरो दाबी कुनै कुरामा छैन,’ उनले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरी दिनुहोस्, सबैमा अनुरोध ।’

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति खड्काले ‘म मन्त्री बन्दिनँ । मैले मन्त्री नबन्ने कुरा २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको हुँ । र, त्यसमा म अहिलेसम्म पनि अडिग रहेको छु ।’ तर, नेताहरू खड्काको यस भनाइबारे ‘मन्त्रीमात्रै भएको बेला पो हो त, उपप्रधानमन्त्री पाए त गइहाल्नुहुन्छ नी ?’ भन्छन् ।

संस्थापनइतर समूह नेता डा. शेखरको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताइरहेको छ । नेतृत्व पाए शेखर सरकारमा जाने जनाउ सभापति देउवालाई दिएको स्रोत बताउँछ ।

पार्टीले औपचारिक निर्णय गरे त्यसलाई स्वीकार गर्नुपर्ने दायित्व शेखरको भएको स्रोत बताउँछ ।

पूर्वमहामन्त्री डा. शशांक पनि सरकारमा जाने बताइरहेका छन् । उपप्रधानसहित नेतृत्व पाए जुनसुकै मन्त्रालय लिएर राजीखुसी सरकारमा सहभागी हुन तयार रहेको उनले सभापति शेरबहादुर देउवालाई बताइसकेका छन् ।

‘उपप्रधानमन्त्री र नेतृत्व समान्य विषय होइन । नेतृत्वबिना सरकारमा जाने विषय डा. साबका लागि स्वीकार्य हुँदैन,’ डा. शशांकले देउवासँग राखेको धारणा उध्रीत गर्दै एक नेताले भने, ‘नेतृत्वसहित उपप्रधानमन्त्री पाए अरू जुन मन्त्रालय भए पनि हुन्छ । तर, राम्रै मन्त्रालय दिए पनि नेतृत्व भएन भने उहाँ जानु हुन्न ।’

उपसभापति र महामन्त्रीको दायित्व निर्वाह गरिसकेका नेता प्रकाशमान सिंहको नेतृत्वमा पनि कांग्रेस सरकारमा सहभागी हुने सम्भावना रहेको नेताहरु बताउँछन् । सिंहलाई उपप्रधानमन्त्री बनाएर १४ औं महाधिवेशनमा लगाएको गुन तिर्न नेताहरूले देउवालाई सल्लाह दिइरहेका छन् । सिंहले दोस्रो चरणमा समर्थन गरेपछि देउवालाई सभापतिमा निर्वाचित हुन मद्दत पुगेको थियो ।

त्यससँगै आफ्नो नेतृत्वमा सरकारमा जान पूर्वउपसभापति विमलेन्द्र निधिले पनि प्रयास गरिरहेका छन् । तर, नेतृत्व भने उनलाई नेतृत्व लिएर सरकारमा पठाउन सकारात्मक नभएको स्रोत बताउँछ । त्यस्तै प्रवक्ता डा प्रकाशशरण महतल पनि आफ्नो इच्छा जाहेर गरेका छन् । उनको इच्छामा सभापति शेरबहादुर देउवा सकारात्मक नरहेकाे नेताहरू बताउँछन् ।

पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखक अहिले पार्टीभित्र त्यसबारेमा छलफल नभएको बताउँछन् । राष्ट्रपति निर्वाचन, आचारसंहिता तथा उपराष्ट्रपति निर्वाचनका कारण पनि अहिले पार्टीभित्र सरकारको विषय मुख्य नभएको उनको भनाइ छ ।

प्रतिक्रिया